• TOKHA LIVE

    • ८ कार्तिक २०८२, शुक्रबार १९:२४

    जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

    काठमाडौँ, ७ कात्तिकः ‘जेनजी’ युवाहरूले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन्।

    ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गर्दै सरकारले देशभरका जेनजी युवालाई एकताबद्ध बनाउन तत्काल पहल गर्नुपर्ने माग राखेको छ।

    सभामा वक्ताहरुले सरकार जेनजी आन्दोलनको भावनाअनुरूप अघि बढ्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनीहरूले जेनजी युवालाई एक बनाउने सट्टा सरकारकै भूमिका समूहगत विभाजनतर्फ उन्मुख भएको आरोप लगाए।

    वक्ताहरुले ७७ वटै जिल्लामा ‘जेनजी सम्मेलन’ आयोजना गर्न माग गर्दै भने, “जेनजी युवाको भावनालाई बेवास्ता गर्नु अब अस्वीकार्य छ, सरकारले देशभर एकताको वातावरण बनाउनुपर्छ।”

    जेनजी आन्दोलनका घाइते मदन कार्कीले माग सुनुवाइ नगरी सरकारले निर्वाचनमा सहभागी हुन दबाब दिइरहेको जनाउँदै भने, “हामी सडकमा विजयी छौं, तर वार्तामा पराजित भइरहेका छौं। अब जात, भाषा, पार्टी बिर्सेर सम्पूर्ण जेनजी एक भएर अघि बढ्नुपर्छ — अहिले हाम्रो राष्ट्रभन्दा ठूलो केही छैन।”

    कार्कीले अहिलेको सरकार २०८४ को निर्वाचनलाई २०८२ मा सार्ने उद्देश्यले मात्र बनेको दाबी गर्दै आन्दोलनका माग र भावना सम्बोधन गर्न सरकारले प्रतिबद्धता देखाउनुपर्ने बताए।

    त्यस्तै, जेनजी एकता अभियान्ता ज्योतिका राईले सरकारकै पहलमा सम्पूर्ण जेनजी युवालाई एकताबद्ध गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन्। उनका अनुसार माग पूरा नभएसम्म खबरदारी र विरोध जारी रहनेछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै