काठमाडौँ, ७ कात्तिक / मापदण्ड विपरीत बिक्री वितरण गरिएका औषधिहरू प्रहरीले टोखाबाट बरामद गरेको छ। प्रहरी वृत महाराजगञ्जको टोलीले टोखा नगरपालिका–५ बसुन्धरास्थित तक्षक फार्मेसीमा छापा मारेर चिकित्सकको अनुमतिबिनै बिक्री वितरण गरिएका औषधि फेला पारेको हो।
वृत्तका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाका अनुसार सो फार्मेसीबाट स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद गरिएको हो।
प्रहरीले फार्मेसीको सञ्चालक सङ्खुवासभा खादवारी नगरपालिका–८ निवासी ४० वर्षीय प्रकाश गौतम रहेको पुष्टि गरेको छ। औषधि व्यवस्था विभागसँगको समन्वयपछि ती औषधि मापदण्ड विपरीत बिक्री वितरण भएको प्रमाणित भएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले फार्मेसी सञ्चालकविरुद्ध आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

