टाेखा, काठमाडौँ ६ असोज । सांस्कृतिक सहरका रूपमा परिचित टाेखा अहिले तिहारको झिलिमिली उज्यालोले झन् झलमलिएको छ। काठमाडौं महानगरको उत्तर भागमा अवस्थित ऐतिहासिक सांस्कृतिक टाेखा सहरको मठमन्दिर हरेक गल्ली, घर र चोकहरू बत्तीको चमकले रङ्गिएको छन्। ग्रान्डी टावरदेखि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल आसपासका क्षेत्रसम्म, टाेखाका पाखा भन्ज्याङ र पुराना गल्लीहरू उज्यालोले जीवन्त बनेका छन्।
टाेखाको आकाशमा देखिने बत्तीको झिलिमिलीले यस सहरलाई मानौँ ताराहरू पृथ्वीमा ओर्लिएका झैँ बनाएको छ। घर–घरमा बालिएका बत्ती, रंगीचंगी माला र दीपले आँगन र छतहरू चम्किएका छन्। हरेक गल्लीमा फुलमालाको सुगन्ध, देउसी–भैलोको गीत र बालबालिकाको हाँसोले टाेखाको रात जादुमय बनेको छ।
बजारहरूमा किनमेलको रौनक छ । मिठाई, फूल, बत्ती र सजावटका सामान किन्ने भीडले टाेखा बजार तातिएको छ। व्यापारीहरूका अनुसार यस वर्ष पनि आधुनिक झिलिमिली बत्ती र डिजाइनयुक्त सजावट सामग्रीको बिक्री निकै बढेको छ। पुराना माटोका दियो र मैनबत्तीलाई अहिले आधुनिक एलईडी बत्तीले प्रतिस्थापन गरिसकेको छ।
सांस्कृतिक शहर टाेखाका मुल नायो हेमराज श्रेष्ठ भन्छन्, “पहिले त सुकुन्दाले माटोको पालामा दियो बाल्थ्यौं एसले एकातिर व्यवसायीहरुको चाडपर्व धान्ने,घरको वातावरण मन्द मिथास ल्याउथ्यो अहिले त घरघरमा झिलिमिली बत्ती टाँग्ने चलन बढेको छ। आर्थिक कारोबार एक ठाँउ त छदै छ । आर्थिकपातो जे भए पनि यो समयको माग हो । यसले टाेखालाई साँच्चिकै उज्यालो र सुन्दर सहर बनाएको छ।”
राति ग्रान्डी टावर र वरिपरिका बत्तीहरूले सहरलाई फरक रुप दिएका छन्। छतमा झुण्डिएका रंगीन स्ट्रिङ बत्ती, झ्याल र बगैँचामा चम्किने उज्यालो, र युवायुवतीका सेल्फी र हाँसोका आवाजहरूले टाेखा आजभोलि नयाँ जीवन्तता बोकेको अनुभूति दिन्छ।
टाेखाका स्थानीय बासिन्दा माया गुरुङ भन्छिन्, “तिहारले हाम्रो सहरलाई मात्र होइन, हाम्रो मनलाई पनि उज्यालो बनाउँछ। उज्यालोले एकअर्कामा प्रेम र एकता बाँड्ने भाव ल्याउँछ।”
सांस्कृतिक र आर्थिक दृष्टिले पनि तिहारले टाेखालाई उत्सवको सहर बनाएको छ। बजारमा बिक्री बढेको छ, र मानिसहरूको अनुहारमा उत्साह झल्किएको छ। फूल, माला, बत्ती र गीत–सङ्गीतले सजिएको टाेखा अहिले साँच्चिकै उज्यालो र आत्मीय सहर बनेको छ । जहाँ उज्यालो केवल बिजुलीको होइन, मनको पनि छ। ड्राेन फाेटाे: अशिम श्रेष्ठ /टाेखालाइभ

