• TOKHA LIVE

    • ७ कार्तिक २०८२, बिहीबार ०९:३९

    आज भाइटीका : दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै दाजुभाइ

    काठमाडौँ, कात्तिक ६ / नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज देशभर भाइटीका मनाइँदैछ। कार्तिक शुक्ल द्वितीया अर्थात् यमद्वितीया का दिन दाजुभाइले दिदीबहिनीको हातबाट टीका ग्रहण गरी दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्छन्।

    यस वर्ष तिथि वृद्धि भएकाले भाइटीका तिहारको छैटौँ दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार टीकाको साइत बिहान ११:३९ बजेको अभिजित् मुहूर्त सर्वश्रेष्ठ मानिएको छ। तर दिनभर जुनसुकै समयमा पनि टीका लगाउन कुनै बाधा छैन।

    धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार दिदीबहिनीले दाजुभाइलाई पूजा गरी टीका लगाइदिँदा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय विश्वास छ। आज दिदीबहिनीले तेलको धाराले छेकेर दाजुभाइको पूजा गर्दै परम्परागत पञ्चरङ्गी टीका (रातो, सेतो, पहेंलो, हरियो र नीलो) लगाइदिन्छन्। साथमा मखमली, सयपत्री, गोदावरीका माला अर्पण गरी मिठा–मसला, सेलरोटी, ओखर, कटुस आदि दिएर मायाको प्रतीक स्वरूप दक्षिणा र कपडा आदानप्रदान गर्ने परम्परा छ।

    यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व फर्की र दाजुभाइ पश्चिम फर्केर बस्नुपर्ने बताइएको छ। यसो गर्दा तुला राशिमा रहेका चन्द्रमा सम्मुख पर्ने र शुभफल प्राप्त हुने विश्वास छ।

    भाइटीकाको दिनलाई नेवार समुदायले किजा पूजा का रूपमा मनाउँछन्। भक्तपुरका केही नेवार समुदायले भने बुधबार नै किजा पूजा सम्पन्न गरेका छन्।

    दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि विशेष व्यवस्था

    आजैका दिन काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। वर्षमा यही दिनमात्र खुल्ने यो मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले टीका लगाई धार्मिक आस्था प्रकट गर्छन्।

    त्यस्तै जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दाजुभाइ वा दिदीबहिनी नहुने भक्तजनहरू आज पूजा, दर्शन र टीका लगाउन आउने गर्छन्।

    विसं २०३५ अघि रानीपोखरीभित्र प्रवेश गर्न समस्या भएकाले त्यतिबेला खञ्जनेश्वर मन्दिरमा भीड लाग्ने गर्थ्यो। पछिल्ला वर्षमा बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेपछि दुवै स्थानमा भक्तजनहरूको उपस्थितिले भाइटीकाको सांस्कृतिक महत्व झनै उजागर भएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै