पाटन (ललितपुर), ५ कात्तिक / प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत्लाई नेपालीहरूको गौरव, सभ्यता र राष्ट्रिय पहिचानको प्रतीकको रूपमा चित्रित गर्दै यसको संरक्षणमा सबैले गर्व र जिम्मेवारीका साथ योगदान दिनुपर्ने बताउनुभएको छ।
नेपाल संवत् ११४६ तथा नयाँ वर्षका अवसरमा नेपाल भाषा मङ्का खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग र पाटनका विभिन्न जातीय समुदायको सहकार्यमा मंगलबार पाटन मङ्गलबजारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री कार्कीले नेपाल भाषाको संरक्षण र प्रवर्द्धनका लागि सरकार सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रधानमन्त्रीले स्मरण गराउनुभयो — “आजभन्दा ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा शङ्खधर साख्वाःले ऋण र गरिबीमा डुबेका जनतालाई मुक्त गराउनुभएको ऐतिहासिक दिन नै नेपाल संवत् सुरु हुने आधार हो। उहाँले देखाउनुभएको सामाजिक एकता, त्याग र मानवीयताको बाटो आज पनि हाम्रो मार्गदर्शक बनेको छ।”
उहाँका अनुसार शङ्खधर साख्वाः केवल व्यापारी मात्र होइन, महान् समाजसेवी र लोककल्याणकारी व्यक्तित्व थिए। “उहाँकै सामाजिक न्याय र परोपकारका कार्यको सम्मानस्वरूप विसं ९३६ मा नेपाल संवत् सुरु गरियो। पछि विसं २०५६ मा उहाँलाई राष्ट्रिय विभूति घोषणा गरियो र २०६५ सालदेखि नेपाल संवत्लाई राष्ट्रिय संवत् मानेर सरकारी कागजातमा समावेश गर्न थालिएको छ,” प्रधानमन्त्री कार्कीले भनिन्।
उहाँले थप भन्नुभयो, “नेपाल संवत् नेपाली माटोमै जन्मिएको, नेपाली जनताकै योगदानमा स्थापित संवत् हो। यसले हाम्रो मौलिकता, राष्ट्रियता र सामूहिक पहिचान बोकेको छ। शङ्खधर साख्वाबाट सिक्ने कुरा हो—व्यक्तिगतभन्दा सामूहिक र दलगतभन्दा माथि राष्ट्रिय हित राख्न सक्ने संस्कार।”
त्यसै क्रममा प्रधानमन्त्री कार्कीले हालैको ‘जेन जेड’ आन्दोलनमा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, “ती युवाहरूले सुशासन र पारदर्शिताको आवाज उठाए। उनीहरूका सपनालाई साकार पार्न अब हामी सबै जिम्मेवार बन्नुपर्छ।”
उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। “लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा हाम्रो प्राथमिकता हो,” प्रधानमन्त्री कार्कीले जोड दिनुभयो।
यसैबीच, काठमाडौं उपत्यकाका तीनै सहर—काठमाडौँ, ललितपुर र भक्तपुरमा नेवार समुदायले परम्परागत पोशाक, बाजागाजासहित सांस्कृतिक र्याली, नाचगान र दीप प्रज्वलन गर्दै नेपाल संवत् ११४६ उल्लासपूर्वक मनाएका छन्। देशका विभिन्न सहर र गाउँहरूमा पनि ‘नयाँ वर्ष’को स्वागत हर्षोल्लासका साथ गरिएको छ।

