त्रिशूली (नुवाकोट), ४ कात्तिक / नुवाकोटको ककनी गाउँपालिका–१ जलकुनीमा आज बिहान लागेको आगलागीले दुई घर पूर्णरूपमा नष्ट भएका छन् ।
आगलागीबाट नगद, सुनचाँदीका गरगहना, अन्नबाली, लत्ताकपडा र भाँडावर्तनसहित करिब एक करोड रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (प्रनाउ) विक्रम लामाले जानकारी दिनुभयो ।
प्रनाउ लामाका अनुसार बलराम बलामीको घरबाट सुरु भएको आगो छिमेकी घरमा समेत फैलिँदा दुबै घर पूरै जलेर नष्ट भएका हुन् । विद्युत् गडबडीका कारण आगलागी भएको अनुमान गरिएको छ ।
“आगोका कारण करिब १० लाख रुपैयाँ नगद, २५ लाख बराबरका गरगहना, र १८ लाख बराबरको अन्नबाली तथा भाँडावर्तन जलेका छन्,” प्रनाउ लामाले भन्नुभयो, “तर स्थानीयवासी र सुरक्षाकर्मीको सहकार्यमा मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ।”
आगलागीका पीडित परिवार अहिले घरविहीन बनेका छन् । उनीहरूका लागि ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी बासको व्यवस्था मिलाएको छ भने जिल्ला प्रशासन कार्यालय र रेडक्रस नुवाकोट शाखामार्फत आवश्यक बन्दोबस्ती सामग्री उपलब्ध गराउन सिफारिस गरिएको छ ।

