काठमाडौँ, ३ कात्तिक / प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशी सधैँ नेपाली जनताको मनमा रहिरहने बताउनुभएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री कार्कीले विपिन जोशीको नाम केवल नेपालमै होइन, इजरायलमा पनि सम्मानपूर्वक स्मरण भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विपिनले आफ्नो देशको नाम उज्यालो त पार्नुभयो नै, इजरायली जनता र सरकारबाट पनि आदर प्राप्त गर्नुभयो। उहाँ साँच्चिकै बहादुर युवा हुनुहुन्थ्यो।”
प्रधानमन्त्री कार्कीले विपिन जोशीकी आमा र बहिनीप्रति पनि गहिरो सम्मान व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यस्तो साहसी छोरा जन्माउने आमा र निरन्तर खोजीमा लागिरहेकी बहिनीप्रति मेरो नमन छ।”
प्रधानमन्त्रीले जोशीको पार्थिव शरीर नेपाल फर्किएपछि विगत दुई वर्षदेखि उहाँको खोजीमा प्रतीक्षा गरिरहेका नेपालीहरूका आँखा रसाएको उल्लेख गर्नुभयो। “हामी सबैलाई विपिन फर्केर आउनेछन् भन्ने विश्वास थियो,” उहाँले भावुक हुँदै भन्नुभयो, “तर त्यो चाहना अब सपना मात्र बन्यो। उहाँले चाहनुभयो भने बाँच्न सक्थे, तर साथीहरूलाई बचाउने क्रममा आफैं अपहरणमा पर्नुभयो। त्यसबेला उहाँले कस्तो कष्ट भोग्नुभयो होला भन्ने सोच्दा पनि हृदय चिसिन्छ।”
विपिन जोशीको बहादुरी र मानवताप्रतिको समर्पण सधैँ प्रेरणादायी रहने बताउँदै प्रधानमन्त्री कार्कीले थप्नुभयो, “विपिन केवल एक परिवारका होइनन्, सम्पूर्ण नेपालीका छोरा हुन्। उहाँको साहस र हिम्मत कहिल्यै मर्ने छैन। विपिन कहिल्यै अस्ताउने छैनन्उनी सधैँ हाम्रो मनमा बाँचिरहने छन्।”
इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौं ल्याइएको हो।

