टोखा, २ कात्तिक / टोखाको ऐतिहासिक र सांस्कृतिक जीवनसँग गहिरो सम्बन्ध राख्ने न्हुज: पुस्तकालय (न्हुज: खल) ले आज टोखाका चतुर्मास दाफा भजन गाउने सांस्कृतिक खलपुचहरूलाई सम्मानपूर्वक समयबजि (भोज) आयोजना गरेको छ।
टोखामा परम्परादेखि निरन्तर भजनकिर्तन गर्दै आएका सपनतिर्थ दाफा खल, जोरभिमसेन दाफा खल, चण्डेश्वरी दाफा खल, इन्द्रायणी दाफा खल, पिगंद्य: दाफा खल सहलुबी, र चण्डेश्वरी भजन खल गरी जम्मा छ वटा खलपुचहरू आजको कार्यक्रममा सहभागी भएका थिए।यी खलपुचहरूले चतुर्मासको चार महिनासम्म टोखाका विभिन्न वस्तीमा राती–राती बसेर थ्यासफुमा लेखिएका लोकलयमा आधारित भजनहरू गाउने परम्परा जोगाइरहेका छन्।
न्हुज: पुस्तकालयका सल्लाहकार गजराज श्रेष्ठ का अनुसार, “टोखाको सांस्कृतिक पहिचान जोगाइरहेका यी खलपुचहरू हाम्रो गौरव हुन्। उहाँहरूले चार–चार महिना अहोरात्र भजन गाएर संस्कृति जोगाइरहेका छन्, त्यसैले हामी पनि उनीहरूलाई स–सम्मान साथ दिन आएका हौं,” भन्दै उहाँले न्हुज: पुस्तकालय सधैं सांस्कृतिक कर्मीहरूको साथमा रहने सन्देश दिनुभएको थियो। यो समयबजि भोजको परम्परा न्हुज: पुस्तकालयले गत वर्षदेखि सुरु गरेको हो, जसले टोखाको सांस्कृतिक एकता, सामूहिकता र पुरातन परम्पराप्रति सम्मान झल्काउँछ।

