• TOKHA LIVE

    • १ कार्तिक २०८२, शुक्रबार २०:०२

    नेपाललाई विश्वकप छनोटको उपाधि

    काठमाडौँ, ३१ असोज / नेपालले आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक (EAP) छनोटको उपाधि जितेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा शुक्रबार सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपाल अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रनको विशाल योगफल बनायो । नेपालको जितमा ओपनर आसिफ शेखले ४१ बलमा सात चौका र चार छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३ बलमा दुई चौका र चार छक्कासहित ५३ रन जोडे । लोकेश बमले ३९ रन, कप्तान रोहित पौडेलले अविजित २१ रन र कुशल भुर्तेलले १७ रनको योगदान दिए ।

    जवाफमा सामोआ २० ओभरमा सात विकेट गुमाउँदै ८७ रनमा समेटियो । उसका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए । नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए ।

    यसअघि समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो । सुपर सिक्स चरणमा नेपालले युएईमाथि एक रनले, कतारमाथि पाँच रनले र ओमानमाथि ३८ रनले जित निकालेको थियो ।

    यसैसँग नेपाल, युएई र ओमानले आगामी वर्ष भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट पक्का गरेका छन् । विश्वकप आगामी माघ २७ देखि फागुन २४ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै