• TOKHA LIVE

    • १ कार्तिक २०८२, शुक्रबार ०९:४१

    टोखामा माटो परीक्षण अभियान : किसानलाई १५ दिनभित्र नमूना बुझाउन अनुरोध

     

    टोखा, असोज ३१/
    “कला संस्कृतियुक्त, स्वच्छ समुन्नत टोखा नगर” भन्ने नारासहित अघि बढिरहेको टोखा नगरपालिकाले अब कृषकको खेतबारी सुधारतर्फ ध्यान दिएको छ। टाेखा नगरपालिकाको कृषि विकास शाखाले माटो परीक्षण कार्यक्रम सुरु गरेको छ, जसअन्तर्गत माटोको नमूना परीक्षण गरी आवश्यक कृषि चून वितरण गरिने भएको छ।

    नगरपालिकाले टोखा भित्रका सबै इच्छुक किसानलाई यो सूचना सार्वजनिक गर्दै १५ दिनभित्र माटोको नमूना संकलन गरी कृषि विकास शाखामा बुझाउन अनुरोध गरेको छ।

    माटोको नमूना सङ्कलन गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा

    कृषि शाखाले किसानलाई सहज र उपयोगी बनाउनका लागि केही सरल निर्देशनहरू पनि दिएको छः

    वर्षा वा पानी परेको बेला नमूना लिनु हुँदैन।

    एक रोपनी जग्गाबाट पाँच फरक स्थानका माटो मिसाएर प्रतिनिधि नमूना तयार गर्नुपर्छ।

    गाईवस्तु बाँधेको ठाउँ, मल थुपारेको भाग, रुखको फेद वा झाडी नजिकबाट नमूना नलिनुहोस्।

    करिब १५–२० सेन्टिमिटर (१ बित्ता) गहिराइमा ‘V’ आकारमा माटो निकाल्नुपर्छ। नमूना करिब ५०० ग्राम (आधा किलो) मात्र पर्याप्त हुन्छ।

    सङ्कलन गरिएको माटो सफा प्लास्टिकमा राखी, त्यसमा नाम, ठेगाना, मिति, खेतको प्रकार, बाली, मल प्रयोग र देखिएका समस्या स्पष्ट लेख्नुपर्छ।

    थप जानकारीका लागि

    माटो परीक्षणसम्बन्धी विस्तृत जानकारी तथा सहयोगका लागि किसानले टोखा नगरपालिका कृषि विकास शाखामा सिधै सम्पर्क गर्न सक्नेछन्।
    सम्पर्क नम्बरहरू: ०१४९८५०१३ / ९८४१०१५१७५ / ९८४३१८४१६७ / ९८४२९७३७४५

    कृषि प्रसार अधिकृत सुमित्रा पाठकका अनुसार, “माटो परीक्षणको उद्देश्य किसानलाई आफ्नो जमिनको वास्तविक अवस्था बुझ्न सहयोग गर्नु र वैज्ञानिक तरिकाले खेतीमा सुधार ल्याउनु हो।”

    टोखा नगरपालिका कृषि विकास शाखाको सक्रियतामा गरिएको यो पहलले टोखाका कृषकका खेतहरू अझ उर्वर र उत्पादनशील बन्ने अपेक्षा गरिएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै