• TOKHA LIVE

    • ३० आश्विन २०८२, बिहीबार २२:२३

    नेपालसँग ओमान पराजित

    काठमाडौँ, ३० असोजः
    आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले आज ओमानलाई ३८ रनले पराजित गरेको छ ।

    ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा नौ विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो ।

    ओमानका तर्फबाट विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए भने मोहम्मद नदीमले २५ रन जोडे । बलिङतर्फ नेपालका गुल्शन झाले तीन विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । नन्दन यादव र सोमपाल कामीले समान दुई–दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट हात पारे ।

    यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित ६९ रन बनाए । त्यसैगरी आसिफ शेखले २० बलमा २४ रन, गुल्शन झाले दुई छक्कासहित १८ रनआदिल आलमले १६ रनको योगदान गरे ।

    ओमानका बलर नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुई–दुई विकेट लिए ।

    यस जितसँगै पहिले नै विश्वकपमा स्थान पक्का गरिसकेको नेपालले आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने ओमान दोस्रो स्थानमा छ जसले हालसम्म छ अङ्क प्राप्त गरेको छ ।

    अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै