काठमाडौँ, २८ असोज /
दुई वर्षअघि प्यालेस्टाइनी समूह हमासको कब्जामा परेका कञ्चनपुरका विपीन जोशी अब जीवित नरहेको आधिकारिक पुष्टि भएको छ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायली अधिकारीहरूले औपचारिक रूपमा जोशीको निधन भएको जानकारी गराएका छन्। दूतावासले जनाएको छ ।“इजरायली अधिकारीहरूले नेपाली दूतावासलाई सम्पर्क गरी विपीन जोशी अब जीवित नरहेको पुष्टि गरेका छन्।”
विपीन जोशीलाई वि.सं. २०८० असोज २३ गते हमास समूहले इजरायलको किबुत्स आलुमिमबाट अपहरण गरेको थियो। उनी त्यतिबेला ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायलमा रहेका थिए।
नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि सामाजिक सञ्जालमार्फत दुख व्यक्त गर्दै लेखेका छन् – “विपीन जोशी अब हामीमाझ रहनुभएन। दुई वर्षको आशा अब समाप्त भएको छ।”
त्यस्तै, इजरायली सञ्चारमाध्यमहरूले पनि जोशीको मृत्युबारे पुष्टि गरेका छन्।
यो घटनाले इजरायलमा अध्ययनरत अन्य नेपाली विद्यार्थी र उनीहरूका परिवारबीच गहिरो पीडा र असुरक्षाको भावना पुनः उजागर गरेको छ।

