• TOKHA LIVE

    • २८ आश्विन २०८२, मंगलवार ०७:५०

    कतारलाई हराउँदै नेपाल टि–२० विश्वकपको ढोका नजिक

     

    काठमाडौँ, २८ असोज ।
    सन्दीप लामिछानेको जादुई प्रदर्शनपछि नेपालले सोमबार कतारलाई ५ रनले हराउँदै आगामी आइसीसी टि–२० विश्वकपको ढोका ढकढक्याएको छ।

    ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १४७ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो। जवाफमा कतार एक बल बाँकी छँदै १४२ रनमा अलआउट भयो।

     सन्दीपको पाँच विकेट

    नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चेर पाँच विकेट लिएर नेपाललाई अकल्पनीय जित दिलाए।
    उनी “म्यान अफ द म्याच” घोषित भए।
    त्यस्तै, नन्दन यादवले दुई विकेट र दिपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

    कतारका प्रारम्भिक ब्याट्सम्यान इमाल लियानागे (३५ बलमा ५५ रन) र जुबेर अली (५२ रन)ले बलियो सुरुवात गरे पनि बाँकी ब्याट्सम्यान ठूला स्कोर बनाउन असफल रहे।

     नेपालको ब्याटिङ

    नेपालका लागि कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको दमदार पालि खेले, जसमा सात चौका र एक छक्का सामेल थियो।
    रोहित र दिपेन्द्रसिंह ऐरीबीच चौथो विकेटका लागि ६२ रनको साझेदारीले नेपाललाई सन्तोषजनक स्कोरमा पुर्‍यायो।
    ऐरीले २२ बलमा २६ रन, गुलशन झा (८ बलमा १६ रन) र सोमपाल कामी (९ बलमा १४ रन)ले पनि उपयोगी योगदान दिए।

    अन्य ब्याट्सम्यानमध्ये कुशल भुर्तेल (६), आसिफ शेख (११), कुशल मल्ल (८), आदिल अन्सारी (२) र सन्दीप जोरा (१)ले ठूलो स्कोर गर्न सकेनन्।

     प्रतियोगितामा नेपाल अपराजित

    यस जितसँगै नेपालले सुपर सिक्समा ६ अङ्क बनाउँदै विश्वकपको नजिक पुगेको छ।
    यसअघि नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराएर विश्वकप चयनतर्फ एक पाइला अघि बढिसकेको थियो।
    समूह चरणमा दुवै खेल जितेको नेपाल हालसम्म प्रतियोगितामा अपराजित छ।

    कतारका बलर मिर्जा मोहम्मद बेगडेनियल आर्चर मारिया लुइसले तीन/ तीन विकेट लिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै