• TOKHA LIVE

      TOKHA LIVE

    • २४ आश्विन २०८२, शुक्रबार २१:५२

    विश्वकप क्रिकेट छनोटः जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

    काठमाडौँ, २४ असोजः
    आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सुपर सिक्स चरणमा स्थान सुरक्षित गरेको छ। आज ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै समूह विजेता बनेको हो।

    लगातार दोस्रो जितसँगै नेपालले दुई खेलबाट पूर्ण चार अङ्क जोड्दै सुपर सिक्समा प्रवेश पाएको हो। जापान पनि दुई अङ्कका साथ उपविजेताका रूपमा अर्को चरणमा पुगेको छ।

    जापानले दिएको एक सय ३२ रनको लक्ष्य नेपालले १८ ओभरमै पाँच विकेट गुमाउँदै सहज रूपमा पूरा गर्‍यो। नेपालका आसिफ शेखले ३८ रनसहित उत्कृष्ट सुरुवात दिलाए भने गुल्शन झाले अविजित २८, कुशल भुर्तेलले २१, कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले अविजित १४ रन जोडे। जापानका शोम स्लाटले दुई विकेट लिए भने सबौरिश रविचन्द्रन र डेक्लन सुजुकी म्याककोम्बले समान एक–एक विकेट हात पारे।

    यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३१ रन बनाएको थियो। कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्कासहित ६० रनको उत्कृष्ट पारी खेले। इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन जोडे।

    नेपालका बलरहरू मध्ये गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट हात पारे।

    नेपालले अब सुपर सिक्स चरणमा समूह ‘ए’का टोलीहरूसँग प्रतिस्पर्धा गर्दै विश्वकपमा स्थान सुरक्षित गर्ने लक्ष्य लिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर

    टोखा नगरपालिकामा आयो दमकल

  • छुटाउनुभयो कि? सबै