प्रत्येक वर्ष कार्तिक कृष्ण प्रतिपदादेखि तृतीयासम्म चल्ने यो जात्रालाई ‘चोक्काथुनारायणको जात्रा’ वा ‘तीननारायण जात्रा’ पनि भनिन्छ। बुधबारदेखि सुरु भएको यो जात्रा आज सम्पन्न भएको हो। जात्रा हेर्न हाँडीगाउँ क्षेत्रमा हरेक वर्षजस्तै यसपटक पनि ठूलो संख्यामा दर्शकको भीड लागेको थियो।
गुठी संस्थानका अनुसार यो जात्रा कोजाग्रत पूर्णिमापछि हरेक वर्ष आयोजना गरिँदै आएको छ र यसलाई हाँडीगाउँको मौलिक पहिचान तथा प्राचीन सांस्कृतिक सम्पदाको प्रतीकका रूपमा मानिन्छ।
यो जात्रालाई ‘कहीँ नभएको जात्रा’ भन्ने कारण पनि विशेष छ — देशका अन्य जात्रामा खटको गजुर सीधा राखी गरिने भए पनि हाँडीगाउँमा भने उल्टो पारेर निकालिने परम्परा छ। यही अनौठोपनका कारण यसलाई ‘कहीँ नभएको जात्रा’ भनिएको हो।
चोक्काथुनारायणको नाममा गुठी जग्गा स्थापना गरी यो परम्परा निरन्तर चलाउने व्यवस्था गरिएको ऐतिहासिक विवरणमा उल्लेख छ। मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार यो जात्रा राजा नरेन्द्र मल्लको पालादेखि सुरु भएको मानिन्छ।
‘हाँडीगाउँः एक परिक्रमा’ पुस्तकका लेखक तथा सांस्कृतिक अनुसन्धानकर्ता यज्ञनाथ आचार्यका अनुसार चोक्काथुनारायणको मूर्ति बूढानीलकण्ठबाट ल्याई हाँडीगाउँमा स्थापना गरिएको हो, जसपछि यो अनौठो परम्परा निरन्तर चल्दै आएको छ।