काठमाडौँ, २२ असोजः नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टि–ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खला जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ । मलेसियाको बायोमास क्रिकेट ओभलमा आज सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा नेपालले घरेलु टोली मलेसियालाई पाँच विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको हो ।
मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपाली टोलीले १८ ओभरमै पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ र सम्झना खड्काले १३ रनको योगदान दिए ।
बलिङतर्फ मलेसियाका आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एक–एक विकेट लिए ।
त्यसभन्दा अघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०३ रनको योगफल बनाएको थियो । विनिफ्रेड दुराइसिंघमले ४० रनसहित मलेसियाका शीर्ष स्कोरर बनिन् । माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन जोडे ।
नेपालका लागि कविता कुँवर र राजमति ऐरीले समान तीन–तीन विकेट लिए भने रचना चौधरीले एक विकेट झारेकी थिइन् ।
यो जितसँगै नेपाली महिला क्रिकेट टोलीले विदेशी भूमिमा आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बलियो सन्देश दिएको छ ।

