काठमाडौँ, २२ असोज / हालैको बाढीपहिरोले देशका विभिन्न भागमा सडक र पुल संरचनामा ठूलो क्षति पुर्याएपछि सरकारले तत्काल पुनर्निर्माण र मर्मत कार्यलाई तीव्रता दिने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार क्षतिग्रस्त सडक संरचना पुनर्निर्माणका लागि करिब रु १२ अर्ब ३८ करोड आवश्यक पर्ने अनुमान गरिएको छ।
मन्त्रालयका मातहतका निकायहरू हाल अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर जनशक्ति र उपकरणसहित परिचालित छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले “सडक सञ्चालनलाई तत्कालीन आवश्यकताको रूपमा हेरिएको” बताउँदै यथाशीघ्र यातायात सुचारु गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मन्त्रालयका अनुसार, मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणमा करिब रु १० अर्ब ६८ करोड खर्च हुने अनुमान गरिएको छ। सबैभन्दा बढी क्षति मेची राजमार्गमा भएको बताइएको छ, जसको पुनर्निर्माणका लागि मात्र करिब रु १ अर्ब ५० करोड आवश्यक पर्छ।
त्यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिङलगायत राजमार्ग पुनःनिर्माणका लागि करिब रु ३ अर्ब ७७ करोड लाग्ने अनुमान छ।
मन्त्री घिसिङको सचिवालयका अनुसार, क्षति भएका १७ वटा पुल पुनःनिर्माणका लागि रु ४ अर्ब ५२ करोड, बेलिब्रिज जडानका लागि रु ८० करोड र वैकल्पिक सडक मर्मतका लागि रु १ अर्ब ५९ करोड आवश्यक पर्ने सरकारले जनाएको छ।

