काठमाडौँ, २२ असोज / टोखा नगरपालिकाको आयोजनामा बुधबार बिहान नगर क्षेत्रभित्रको शान्ति, सुरक्षा र सहकार्य सुदृढ गर्नका लागि सर्वपक्षीय छलफल सम्पन्न गरिएको छ ।
टोखा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, सुरक्षा निकायका प्रतिनिधि, समुदायका अगुवाहरू, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त छलफलमा नगर क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे गहिरो छलफल गरिएको थियो ।
छलफलबाट नागरिक सुरक्षालाई अझ प्रभावकारी बनाउन केही ठोस निर्णयहरू पनि गरिएका छन्। ती निर्णयहरू यसप्रकार छन् :
१. आ-आफ्नो टोल तथा टोलबासीको जिउधनको सुरक्षा, सार्वजनिक सम्पतिको संरक्षणको लागि नेपाल प्रहरीसँगको समन्वय र सहकार्यमा काम गर्ने गरी क्रियाशिल हुन हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्न वडा कार्यालय मार्फत टोलबासीहरुलाई अनुरोध गर्ने । सोको समन्वय वडा कार्यालयले गर्ने ।
२. टोखा नगरपालिका भित्रका प्रत्येक घरधनीहरुले आफ्नो घरमा बहालमा वस्ने व्यक्तिहरुको परिचय खुल्ने कागजात संकलन गर्ने एवं बहालमा बस्ने व्यक्तिले कुनै शंकास्पद गतिविधि गरिरहेको देखिएमा नजिकको सुरक्षा निकाय एवं नागरिक सुरक्षा संयन्त्रलाई जानकारी गराउने ।
३. स्थिति सामान्य नहुन्जेल अत्यावश्यक अवस्थामा वाहेक राती ९ बजे पछि घर बाहिर ननिस्किन र सम्पूर्ण व्यापार व्यवसाय (यात्रुहरुको वास प्रयोजनको लागि वाहेक) राती ९ बजे पछि बन्द गर्न सम्पूर्ण नगरवासी एवं व्यवसायीहरुलाई अनुरोध गर्ने ।
४. टोखा नगरपालिका क्षेत्रभित्र साविकदेखि स्थापना भएका प्रहरी कार्यालयहरु पूर्ववत अवस्थामा संचालन गर्न गराउन नेपाल सरकारसँग अनुरोध गर्ने ।
५. नगरपालिका क्षेत्रभित्र हाल चालू अवस्थामा नरहेका सडक बत्ती, सिसिक्यामेरा लगायतका सुरक्षासँग सम्बन्धित संरचनाहरु मर्मत संभार गरी संचालनमा ल्याउने ।
६. सुरक्षामा परिचालन हुने सम्पूर्ण संयन्त्रलाई जोड्ने गरी भाईवर ग्रुप सिर्जना गरी प्रयोगमा ल्याउने ।
प्रत्येक टोलमा सुरक्षा समिति गठन : स्थानीय बासिन्दाको सहयोगमा शान्ति र सुरक्षाका लागि टोलस्तरमै समिति बनाइने ।
सन्दिग्ध गतिविधि निगरानी : नगर क्षेत्रभित्र शंका लाग्दा देखिएका व्यक्ति वा गतिविधिको जानकारी तुरुन्तै प्रहरीलाई दिने व्यवस्था मिलाइने ।
राति अबैध गतिविधि नियन्त्रण : राति ९ बजेपछि अनावश्यक रूपमा पसल, बार वा मनोरञ्जन स्थल खुला नराख्ने व्यवस्था लागू गरिने ।
प्रहरी चौकीको सुदृढीकरण : नगर क्षेत्रमा रहेका प्रहरी कार्यालयलाई थप सक्रिय र प्रभावकारी बनाउने ।
सडक र सार्वजनिक स्थानको सुरक्षा सुधार : सडकबत्ती, सिसीटिभी र सार्वजनिक संरचनाको मर्मत तथा विस्तार गरी सुरक्षा व्यवस्थामा सुधार ल्याइने ।
टोखा नगरपालिकाले सबै सरोकारवालाको सक्रिय सहभागितामा यी निर्णयहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
नगर प्रमुख प्रकाश अधिकारीका अनुसार, “टोखा शान्त, सुरक्षित र सभ्य बनाउने हाम्रो साझा जिम्मेवारी हो। नागरिकको सहयोग र सचेतताबाट मात्रै स्थायी शान्ति सम्भव छ,” भन्नुभयो। यो छलफलले नगर क्षेत्रमा सामूहिक सुरक्षाको भावनालाई अझ बलियो बनाउने विश्वास लिइएको छ।


