काठमाडौँ, २१ असोज / ‘जेनजी आन्दोलन’का क्रममा ज्यान गुमाएका परिवारहरू न्यायको खोजीमा अघि बढेका छन् । उनीहरूले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर दोषीमाथि कारबाहीको मागसहित किटानी जाहेरी दर्ता गराउन खोजे । तर, प्रहरी परिसरले यो विषय आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै जाहेरी ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ ।
प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार मृतकका परिवारका चार/पाँच जना प्रतिनिधि आज जाहेरी लिएर आएका थिए । “यो घटना हाम्रो कार्यादेशभित्र नपर्ने भएकाले हामीले आयोगमा पठाएका हौं,” उहाँले भन्नुभयो।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पनि जाहेरी प्राप्त भएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “जाहेरी आयोगमा आइपुगेको छ, अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाइनेछ।”
गृह मन्त्रालयले असोज ९ गते गठन गरेको उक्त आयोगलाई ‘जेनजी आन्दोलन’का क्रममा भएका भौतिक र मानवीय क्षतिको यथार्थ पत्ता लगाई प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ । आयोगले असोज ९ गतेदेखि औपचारिक काम सुरु गरिसकेको छ।
भदौ २३ र २४ गतेको आन्दोलनले मुलुकका विभिन्न ठाउँमा ठूलो असर पारेको थियो। त्यही घटनाका पीडित परिवार अहिले पनि न्याय र दोषीमाथि कारबाहीको प्रतीक्षा गर्दै छन्।

