काठमाडौँ, २१ असोजः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार सोमबार प्रतितोला रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको सुन आज बढेर रु दुई लाख ३५ हजार ४०० पुगेको छ। चाँदीको मूल्य भने स्थिर रही प्रतितोला रु दुई हजार ९६० मा कारोबार भइरहेको छ।
गत आइतबारको तुलनामा हेर्दा पनि सुनमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। आइतबार सुनको मूल्य रु दुई लाख ३० हजार ६०० थियो भने चाँदीको मूल्य रु दुई हजार ९३० मा सीमित थियो।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सुनको लगातार बढ्दो मूल्यले स्थानीय बजारमा गहना खरिद गर्ने ग्राहकहरूको क्रयशक्ति प्रभावित हुन थालेको व्यवसायीहरूको भनाइ छ।

