• TOKHA LIVE

      TOKHA LIVE

    • २० आश्विन २०८२, सोमबार २०:०७

    मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना

     

     

     

    काठमाडौँ, २० असोजः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालको पश्चिमी भूभागबाट बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।

    महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावका कारण आज र मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। ती प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

    हाल ती प्रदेशहरूमा सामान्यतया बादल लागेको र केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। कृषि र पर्यटन क्षेत्रमा यसले प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    विभागका अनुसार यस वर्ष मनसुन चार दिन ढिला गरी नेपालबाट बाहिरिन थालेको हो। सामान्यतया मनसुन अक्टोबर २ (१६ असोज) मा बाहिरिने गरे पनि यस वर्ष २० असोजमा मात्र बाहिरिन सुरु भएको हो।

    विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट बाहिरिएको छ।”

    मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन बर्हिगमनको समय सामान्यतया अक्टोबरको सुरुमा भए पनि कहिलेकाहीँ ढिलो पनि हुन सक्ने बताइएको छ। “यो वर्ष सरदर मितिभन्दा केही ढिलो गरी मनसुन बाहिरिएको छ,” उहाँले भन्नुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै