काठमाडौँ, २० असोजः रसुवा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटनस्थल गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोसाइँकुण्ड–५ बाट ती पदयात्रीहरूको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको हो । उद्धार कार्यका लागि श्रीनाथ गणबाट विशेष टोली परिचालन गरिएको थियो ।
उद्धार कार्य अझै जारी रहेको निर्देशनालयले जनाएको छ । हाल बेपत्ता रहेका अन्य चार जनाको खोजीका लागि ड्रोन क्यामेरा सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले पाँच स्थानमा खोजी कार्य तीव्र पारेको छ ।

