काठमाडौं, असोज १२।
नवरात्राीभर भक्तजनको घुइँचो लाग्ने मनमैजु मन्दिर काठमाडौं उपत्यकाको उत्तरतर्फ, तारकेश्वर नगरपालिका–९ फुसिन्ख्यमा अवस्थित छ। सतीदेवीको दाहिने तिघ्रा पतन भई उत्पत्ति भएको मानिने यो शक्ति पीठलाई मनोरथ तीर्थ किनारमा रहेको इन्द्रायणी पीठको रूपमा पनि चिनिन्छ।
वंशावलीअनुसार राजा गुणकामदेवको पालामा स्थापना भएको भनिने यो मन्दिरमा नेपाल संवत् ७८६ मा प्रताप मल्लले स्थापना गराएको शिलालेख भेटिएको छ। त्यस्तै, नेपाल संवत् १०३५ भन्दा पुरानो शिलापत्र, राणा प्रधानमन्त्री चन्द्रशमशेर तथा राजा महेन्द्रले गराएको जीर्णोद्धारसमेत यस मन्दिरसँग जोडिएका छन्। राजा गिर्वाणयुद्ध वीरविक्रम शाहले वि.सं. १८५८ मा नित्यपूजाका लागि गुठी स्थापना गरेको प्रमाण पनि यहाँ भेटिन्छ।
धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण यस नेवार वस्तीमा मनमैजु अजिमाको जात्रा धमाथु (धर्मस्थली जात्रा सकिएलगत्तै) लिङ्गो उठाएर सुरु गरिन्छ। यो जात्रा बालाजु बाइसधारा, जामाचो मेलासँग समेत जोडिएको छ। बाइसधारामा स्नान गरी मनमैजु देवीको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ।
मन्दिरको वास्तुशिल्प पनि विशेष छ — पित्तलको छाना, सुन्दर तोरण र टुँडालमा कुँदिएका यौनकलाका आकृतिहरू यसको ऐतिहासिक सौन्दर्यलाई अझ गहिरो बनाउँछन्।
किंवदन्तीको कथा
किंवदन्तीअनुसार प्राचीनकालमा मन नामकी एक कन्या विष्णुमती र केशुमती खोला किनारमा बसेर इन्द्रलाई पति पाउने साधना गर्थिन्। प्रसन्न भएका इन्द्रले उनलाई पत्नीको रूपमा स्वीकार गरे पनि अनुहारमा दाग भएकी ती कन्यालाई स्वर्गमा नलिएर पृथ्वीमै छाडे। जानेबेला इन्द्रले “तिमी अनुहार सुन्दर बनाउने देवी बन्नेछ्यौ” भनी वरदान दिए। त्यसैपछि उनी मनमैजु नामले प्रसिद्ध भइन् र आजसम्म सुन्दरताकी देवीका रूपमा पूजिन्छिन्।
अर्को कथामा शिकारी, बाघ र बँदेलको मृत्युपछि मनोरथ तीर्थको प्रभावले स्वर्गमा पुग्ने प्रसंग छ। यही प्रसङ्गले इन्द्रलाई पनि आकर्षित गरी मनमैजुसँग भेट भएको कथा चलनचल्तीमा छ।


