– सुरेश किरण
काठमाडौं, असोज ११ ।
नवरात्रिको मेलामा काठमाडौं उपत्यकाभित्रका विभिन्न शक्तिपीठमा दर्शन गर्ने परम्परा छ। तीमध्ये उपत्यकाको उत्तरी भेगमा पर्ने टोखास्थित मनोरथ तीर्थ नवरात्रिको बेला विशेष आकर्षण मानिन्छ।

धर्मग्रन्थअनुसार यहाँ स्नान गरेपछि मनमा जन्मिने राग, द्वेष र मोहजस्ता नकारात्मक भावनाबाट मुक्ति पाइने विश्वास छ। स्नान सकेपछि भक्तजनहरू तारकेश्वर–९ मा रहेको शक्ति पीठ फुसिंख्यः मनमय्जु अर्थात् इन्द्रायणी अजिमाको पूजा आराधना गर्ने गर्दछन्।

मनोरथ तीर्थ भन्ने यो दोभानमा धर्मस्थलीबाट बगेको केशावती (विष्णुमती) नदीमा टोखाबाट बगेको विमलावती मिसिन्छ। यही संगमस्थललाई काठमाडौंको उत्तरी भागको पहिलो महत्त्वपूर्ण तीर्थका रूपमा मानिन्छ। उपत्यकाको भित्री नगरका भक्तजन मध्यरातमै घरबाट हिँडेर बिहान सबेरै यो तीर्थ पुग्ने परम्परा छ।

स्वयम्भू पुराणमा यो स्थानलाई हरियो वर्णको कुलिक नागराजको वास रहेको स्थलका रूपमा वर्णन गरिएको छ। साथै, वज्रयानी बौद्ध समुदायले यहाँ आएर आर्य लंकावतार सूत्र को पाठ गर्ने चलन पनि छ।

तर, यस पवित्र स्थल अहिले संकटमा परेको छ। एक समय फराकिलो धारमा बग्ने दुई नदीहरू आज अतिक्रमणको चपेटामा परेका छन्। बचेका छन् त केवल नदी किनारको एउटा पुरानो सत्तल र प्रस्तर चैत्य। नदीमा बग्ने पानीभन्दा फोहरको मात्रा बढी देखिन्छ।
नवरात्रि मेलाको यो छैटौँ दिन, भक्तजनहरूको श्रद्धाले भरिएको मनोरथ तीर्थ अझै पनि धार्मिक र सांस्कृतिक महत्त्व बोकेर जीवित छ। तर, अतिक्रमण र प्रदूषणका कारण यसको अस्तित्व संकटमा परेको तथ्यले हाम्रो प्राकृतिक सम्पदामाथि बढ्दो उपेक्षा र बेवास्तालाई झल्काउँछ।

