काठमाडौँ, ११ असोज।
गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा विभिन्न स्थानका कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेभित्र स्वेच्छाले फर्किन कारागार व्यवस्थापन विभागले फेरि आग्रह गरेको छ।
गृह मन्त्रालय र सुरक्षा निकायको सहकार्यमा फरार कैदीलाई फिर्ता ल्याउने काम भइरहेको विभागले जनाएको छ। यसै सन्दर्भमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिएको जानकारी विभागका निर्देशक तथा प्रवक्ता चोमेन्द्र न्यौपानेले दिनुभयो।
विभागका अनुसार अझै पनि उल्लेख्य संख्यामा कैदीबन्दी कारागार बाहिर रहेका छन्। तोकिएको समयभित्र नफर्किनेहरुलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
यसबाहेक, फरारलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिलाई समेत कानुनबमोजिम दोषी ठहरिने विभागले स्पष्ट पारेको छ। जिल्लाबाट नियमित रूपमा कैदी–बन्दीको अद्यावधिक विवरण संकलन गरी माथिल्लो निकायमा पठाउने व्यवस्था पनि गरिएको छ।
खोजी कार्य प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकाय र आवश्यक देखिएको अवस्थामा अन्य संयन्त्रको समेत प्रयोग हुने जनाइएको छ।
भागेका कैदी–बन्दीबारे कुनै पनि सूचना वा जानकारी भए सम्बन्धित कार्यदल वा सुरक्षा निकायलाई उपलब्ध गराउन विभागले सर्वसाधारणलाई आह्वान गरेको छ। यसका लागि सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य उपयुक्त माध्यममार्फत सम्पर्क नम्बर सार्वजनिक गरिने पनि विभागले जनाएको छ।

