काठमाडौँ, ९ असोज ।
दशैँ सुरु भएको तीन दिनमै राजधानी काठमाडौँबाट करिब एक लाख ३८ हजार यात्रु आफ्ना घर फर्किएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापनाका दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रु राजधानी छाडेका हुन्।
प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार पढाइ, रोजगारी र व्यवसायका लागि उपत्यकामा रहेका नागरिक दसैँ मनाउन आफ्ना घरतर्फ फर्किन थालेका हुन्। यात्रुहरू मुख्यत: थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट बाहिरिएका छन्।
तर, यसबीच यात्रा सहज भने भएको छैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारका अनुसार निरन्तर वर्षाका कारण राजमार्गका विभिन्न भागमा पहिरो जाँदा सवारी रोकिएका छन्। “मुग्लिङ–नारायणघाट सडकखण्डमा घण्टौँसम्म गाडी अड्किने गरेको छ, जसका कारण यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन ढिलाइ भइरहेको छ,” उनले बताए।
गोँगबुस्थित नयाँ बसपार्कमा पनि यात्रुको चाप दिनप्रतिदिन बढ्दो छ। बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार सामान्यतया दैनिक २५० बस छुट्ने बसपार्कबाट हाल दैनिक ५०० बस प्रस्थान गर्न थालेका छन्।
यात्रुको सुविधा सहज बनाउन उपत्यका ट्राफिक प्रहरीले विभिन्न संघसंस्थाको सहकार्यमा १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ।दसैँ नजिकिँदै जाँदा यात्रुको चाप झनै बढ्ने अनुमान गरिएको छ।

