काठमाडौँ, ३० भदौ । कागेश्वरी मनोहरा नगरपालिकाले आइतबार दोस्रो कार्यपालिका बैठक सम्पन्न गरी विभिन्न महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ।
बैठकले हालै Gen-Z पुस्ताले सञ्चालन गरेको प्रदर्शनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले नगरक्षेत्रका सार्वजनिक स्थल सफा गर्ने, स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गर्ने तथा मृतक परिवारलाई सहानुभूति व्यक्त गर्ने निर्णय गरेको छ।

त्यसैगरी, बैठकले २४ भदौमा तोडफोडका कारण क्षतिग्रस्त नगरपालिकाको कार्यालय भवनको तत्काल मर्मत तथा अस्थायी रुपमा सेवाग्राहीलाई सहज बनाउन व्यवस्था मिलाउने जनाएको छ। आवश्यक सेवाहरु निरन्तर दिनका लागि सम्बन्धित शाखा प्रमुखहरुको नेतृत्वमा समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
नगरपालिकाभित्र शान्ति–सुरक्षा कायम गर्न सुरक्षा निकायसँग सहकार्य गर्ने, तोडफोडबाट क्षतिग्रस्त पुस्तकालय र अन्य स्रोतहरुको पुनःस्थापना गर्ने, तथा स्थानीय समुदायसँग सहकार्यमा आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, नगरपालिकाको भवन तोडफोड गर्ने क्रममा संलग्न व्यक्तिहरु पहिचान गरी कानूनी कारबाहीका लागि सम्बन्धित निकायलाई आग्रह गर्ने, साथै स्थानीय समुदायलाई सचेत र सक्रिय बनाउन विशेष योजना ल्याउने निर्णय भएको छ।
बैठकले हालको चुनौतीपूर्ण अवस्थालाई पार गर्न नगरबासीको एकता, सहयोग र शान्तिपूर्ण सहभागिता नै मुख्य आधार हुने निष्कर्ष निकालेको छ।

