• TOKHA LIVE

    • ३० भाद्र २०८२, सोमबार १७:३२

    ऐतिहासिक परिवर्तनलाई सार्थक बनाउनु प्रमुख लक्ष्य’ : मन्त्री घिसिङ

    काठमाडौँ, ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक बनाउनु आफ्नो पहिलो जिम्मेवारी भएको बताएका छन्।

    आज सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री घिसिङले जेनजी आन्दोलनका कारण सार्वजनिक संरचनामा भएको क्षतिको यकिन विवरण संकलन गरी तत्काल पुनःनिर्माण सुरु गर्ने प्रतिबद्धता जनाए। उनले त्यसका लागि सरकारी कोष खडा गरिने जानकारी दिँदै भित्रबाहिर रहेका नेपालीलाई सहयोगका लागि आग्रह गरे।

    ठूला आयोजनाहरूलाई तीव्र गतिमा अघि बढाउने घोषणा गर्दै घिसिङले देशको रुपान्तरणमा योगदान दिने रणनीतिक परियोजनाहरूलाई प्राथमिकता दिने बताए। भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको मुख्य नीति रहने स्पष्ट पार्दै उनले भने, “जिम्मेवारी पूरा गर्न नसक्नेहरूलाई तुरुन्त हटाइन्छ। असल नियत राखेर ढुक्क भएर काम गर्नुस्, देशलाई अहिले १८ घण्टा खटेर काम गर्ने आवश्यकता छ।”

    मन्त्री घिसिङले आफूले पाउने सम्पूर्ण तलब, भत्ता र सुविधा जेनजी प्रदर्शनमा प्राण गुमाएका सहिदका परिवारलाई दिने घोषणा गरेका छन्। सुरक्षा व्यवस्थाका लागि चाहिने न्यूनतम मात्र सुरक्षाकर्मी लिने प्रतिबद्धता पनि उनले प्रकट गरे।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै