• TOKHA LIVE

    • ३० भाद्र २०८२, सोमबार १५:२०

    मन्त्रिपरिषद् विस्तारः तीन नयाँ मन्त्रीकाे शपथ ग्रहण

    काठमाडौँ, ३० भदौ । अन्तरिम सरकारका तीन नयाँ मन्त्रीले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहमार्फत रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराउनुभएको हो।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरूलाई यस्तो जिम्मेवारी तोकिएको छः

    • रामेश्वर खनाल — अर्थ मन्त्रालय
    • कुलमान घिसिङ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय
    • ओमप्रकाश अर्याल — गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्रालय

    बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले स्वयं सम्हाल्नुहुनेछ।

    नवनियुक्त मन्त्रीहरूको अनुभव पनि चर्चनीय छ। खनाल पूर्वअर्थ सचिवका रूपमा आर्थिक सुधार र सुशासनका लागि परिचित रहनुभएको छ। घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकका रूपमा नागरिक सरोकारमा सक्रिय आवाज उठाउँदै आउनुभएको छ। अधिवक्ता अर्याल भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिबिरुद्ध अदालतमा मुद्दा दायर गरेर चर्चामा आउनुभएको थियो।

    शपथपछि मन्त्रीहरूले सिंहदरबार पुगेर पदबहाली गरेका छन्। सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित विभिन्न संवैधानिक निकायका प्रमुख र अधिकारीहरू उपस्थित थिए।

    ‘जेनजी’ आन्दोलनले देशभर चर्को वातावरण सिर्जना गरिरहेका बेला राष्ट्रपति पौडेलले गत भदौ २७ गते सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै