काठमाडौँ, २९ भदौ । राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपाली बालबालिका र अभिभावकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनको स्मरणमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइँदै आएको छ। यस वर्षको नारा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” रहेको छ।
राष्ट्रपति पौडेलले बालबालिकाका शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै आवश्यक लगानी सुनिश्चित गर्न सबैलाई आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो, “संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। तर अझै पनि केही बालबालिका अधिकारबाट वञ्चित छन्। तसर्थ, उनीहरूलाई हिंसा, दुव्र्यवहार र अमानवीय व्यवहारबाट जोगाउनु सबै सरोकारवालाको जिम्मेवारी हो।”
सन्देशमा राष्ट्रपति पौडेलले बालबालिकाको भविष्य उज्ज्वल बनाउन गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, खोप, सरसफाइ र बालमैत्री स्वास्थ्य सेवामा सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। साथै, घर, विद्यालय र समुदायमा बालमैत्री वातावरण बनाउन राज्य, समाज, अभिभावक र विद्यालयबीचको एकीकृत भूमिकाको खाँचो औँल्याउनुभयो।
बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै उहाँले यस दिवसले सबैलाई थप प्रेरणा दिनेसमेत विश्वास व्यक्त गर्नुभएको छ।

