काठमाडौँ, २८ भदौ ।
जेनजी आन्दोलनका कारण पाँच दिनदेखि ठप्प परेको काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीसाधन आजदेखि पुनः सञ्चालनमा आएको छ।
बिहानैदेखि सार्वजनिक बस, ट्याक्सी लगायतका सवारीसाधन बाक्लै चलेका छन्। यात्रुहरूको चहलपहल पनि पहिलेझैँ बढेको देखिन्छ। ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार शुक्रबार केही सवारीसाधन फाट्टफुट्ट मात्रै चले पनि आजदेखि बाक्लो संख्यामा सञ्चालनमा आएका छन्।
यस्तै, चितवनतर्फबाट सार्वजनिक बसहरू काठमाडौँ आउन थालेका कारण आज साँझदेखि काठमाडौँबाट बाहिरी जिल्लामा जाने सवारीसाधन पनि चल्न थाल्ने अपेक्षा गरिएको छ।
जेनजीको प्रदर्शनका कारण गत मङ्गलबारदेखि उपत्यकासहित विभिन्न स्थानमा कर्फ्यु लगाइएकाले सार्वजनिक सवारी पूर्णरूपमा बन्द भएका थिए। आज बिहानै कर्फ्यु हटाइएसँगै काठमाडौँको जनजीवन सामान्यतर्फ फर्किन थालेको हो।

