काठमाडौँ, २८ भदौ ।
नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशिला कार्कीलाई पूर्व उपसभामुख इन्दिरा राना मगरले बधाई र शुभकामना व्यक्त गर्दै यो क्षणलाई सम्पूर्ण राष्ट्रकै गौरवको विषय बताउनुभएको छ।
पूर्वप्रधानन्यायाधीश रहिसकी प्रधानमन्त्री बनेकी कार्कीलाई शुभकामना दिँदै रानाले भन्नुभयो, “यो उपलब्धि केवल नेपाली महिलामात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरव हो।”
उनका अनुसार कार्कीले महिलाको अधिकार, समानता र सशक्तिकरणका लागि लामो समयदेखि देखाउँदै आएको संघर्ष, इमानदारिता र निष्पक्ष योगदानले आज ऐतिहासिक नेतृत्वसम्म पुर्याएको हो।
रानाले विश्वास व्यक्त गर्नुभयो, “महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईँको कार्यकाल ऐतिहासिक सावित हुनेछ। संविधानले सुनिश्चित गरेका महिला अधिकार, समावेशीता, न्याय र सुशासनमा तपाईंको नेतृत्वले नयाँ ऊर्जा दिनेछ।”
उहाँले हालको आन्दोलनमा कलिला बालबालिकासहित धेरैको बलिदान भएको पीडा पनि व्यक्त गर्नुभयो। तर सोही बलिदानको जगमा इतिहास रचिँदै आमालाई प्रधानमन्त्री बनाउन सफल भएको भन्दै उहाँले यो क्षणलाई भावुक खुसीको रूपमा लिएको बताउनुभयो।
रानाले अन्त्यमा भनिन्, “हजारौं आमा रोए पनि आज महिलाको लागि एउटा नयाँ इतिहास लेखिएको छ।”

