• TOKHA LIVE

    • २८ भाद्र २०८२, शनिबार ०५:५६

    टोखावासीको एकताले जोगायो भाटभटेनी

     

    काठमाडौँ, २७ भदौ ।
    देशभर अशान्ति फैलिएको बेला अधिकांश भाटभटेनी सुपरस्टोर लुटपाट र आगजनीको चपेटामा परे। तर, त्यही दिन टोखामा भने भिन्न कथा लेखियो एकताको कथा।

    भदौ २४ गते देशभरका २८ शाखामध्ये २१ शाखामा आक्रमण भयो। कतै लुटपाटपछि आगजनी, कतै तोडफोड मात्र। तर सात शाखा सुरक्षित रहन सफल भए, जसमा टोखा शाखा प्रमुख उदाहरण बन्यो।

    टोखामा दुई पटक आक्रमणको प्रयास भयो। भीड स्टोरतर्फ धाउन खोज्यो, तर स्थानीय बासिन्दा दृढ भएर अगाडि उभिए। कसैले पालोमा जाग्राम बसे, कसैले प्रहरी र सेनासँग समन्वय गरे, कसैले भने बस् आफ्नो उपस्थितिबाटै सुरक्षाको भरोसा दिलाए।

    स्थानीय सुशीला अधिकारीको भनाइले यो घटनाको गहिरो भाव उजागर गर्छ:
    “भाटभटेनी जोगाउनु हाम्रो दायित्व हो। यो हाम्रो टाेखा ठाउँमाको इज्जत पनि हो।”
    उनको यो शब्दमा केवल पसल बचाउने कुरा मात्र छैन, समुदायको आत्मसम्मान, आफ्नो ठाउँप्रति माया र भविष्यप्रतिको चिन्ता मिसिएको छ।

    स्टोरका कर्मचारीहरू अझै पनि आत्तिएका छन्। उनीहरू भन्छन् “यदि स्थानीयबासीले साथ नदिएको भए, यो स्टोर आज खरानी हुने थियो।” यो कथनमा आभार मात्र होइन, स्थानीय एकताको शक्ति प्रत्यक्ष प्रमाणित हुन्छ।

    आज भाटभटेनी टोखा अझै सञ्चालनमा आएको छैन। पसल कहिले पुनः सुरु हुन्छ भन्ने अनिश्चित छ। तर, यो स्पष्ट छ टोखावासीको एकताले भौतिक संरचना मात्र होइन, समुदायको आत्मगौरव पनि जोगाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै