काठमाडौँ, २७ भदौ – काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा आगजनी हुँदा ३५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
भदौ २४ गते राति करिब ९ बजे भएको आगलागी भोलिपल्ट बिहान ५ः३० बजेतिर मात्र नियन्त्रणमा आएको थियो। आगोका कारण दसैँ लक्षित नयाँ कपडासहित ५० भन्दा बढी पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। मलभित्रका मोबाइल पसल, रेष्टुरेन्टलगायत व्यवसाय पनि नोक्सानीमा परेका छन्।
लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष तथा सञ्चालक दिपक कुँवरले घटनाले व्यापारीहरूको मनोबल चकनाचुर भएको बताए। उनले भने, “आगजनी र तोडफोडका घटनाले नेपालमा व्यवसाय गर्ने वातावरण नै धमिलिँदै गएको छ। व्यावसायिक भवनमाथि बारम्बार आक्रमण हुँदा ठूलो चिन्ता थपिएको छ।”
यसअघि पनि, २०७९ साल फागुन १ गते यातायात मजदुरको आन्दोलनका क्रममा लोत्से मलमा तोडफोड र आगजनी भएको थियो। त्यतिबेला मलभित्रका मोबाइल पसल लुटपाट हुनुका साथै प्रहरीका भ्यानसमेत जलाइएका थिए।
कुँवरले यसपटकको आगजनीमा संलग्नलाई सिसि क्यामेरा फुटेजका आधारमा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
लोत्से मल काठमाडौँ महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीमा सञ्चालन हुँदै आएको हो। विसं २०७४ मा निर्माण सम्पन्न भएको यो मल हाल राजधानीकै एक प्रमुख व्यवसायिक केन्द्रका रूपमा परिचित छ।

