• TOKHA LIVE

    • २७ भाद्र २०८२, शुक्रबार १९:२०

    टोखा नगरपालिकाका प्रमुखद्धारा जारी अपिल

     

    यहि मिति २०८२ भाद्र २३ गते देखि Gen-Z पुस्ताले मुलुकभर शुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाउन पुगेका नेपाली नागरिकहरु प्रती हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु एवं घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

    सो क्रममा मुलुकभर सार्वजनिक एवं व्यक्तिगत सम्पतीमा अकल्पनिय क्षति हुन पुगेको छ। टोखा नगरपालिका अन्तर्गत बडा नं. ११ को कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक भवन, प्रहरी प्रभाग टोखा लगायत विभिन्न सार्वजनिक सम्पति एवं नगरवासीको व्यक्तिगत सम्पती ध्वस्त हुन पुगेका छन् भने टोखा नगरपालिकाको कार्यालयमा समेत क्षति हुन पुगेको छ। समाजको रुपान्तरण, मुलुकको अग्रगमन र नागरिकको सेवाका निम्ति मैले आफ्नो सम्पूर्ण जीवन समर्पण गरेको बारे टोखा नगरवासीहरु जानकार नै हुनुहुन्छ । तथापी, आन्दोलनकारीको आक्रोशले मेरो माईजु सासु रेनुका खडकाको नाममा रही निजको परिवार हाल देशवाहिर रहेको अवस्थामा सो घरको संरक्षणको लागि मेरो परिवार तथा भाडावाल वसोबास गर्दै आएको घर समेत जलेर खण्डहर बन्न पुगेको छ. सार्वजनिक पदाधिकारी लक्षित गरी भएको आक्रमणले असम्बन्धित सर्वसाधारण नागरिकको व्यक्तिगत सम्पतिमा क्षति हुनु अत्यन्तै दुःखको कुरा हो। सामाजिक व्यक्तिले नागरिकले आफुप्रति गर्ने हरेक व्यवहार सहन तयार हुनु पर्दछ भन्ने मान्यतालाई आत्मसात गर्दै यस कठिन परिस्थितिमा म कत्ति विचलित नभई नगर, नगरवासी, मुलुक र नेपाली नागरिकको सेवाको निम्ति आगामी दिनमा थप सशक्त भई लाग्ने प्रण गर्दछु। यस विषम् परिस्थितिमा संयमित भई मुलुकको शान्ति, सुरक्षा र राष्ट्रिय एकता प्रवर्द्धनमा साथ दिनुहुन नगरवासी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अपिल गर्दछु ।

    नागरिक सरकारको रिक्तता, शान्ति सुरक्षा कायम गर्ने प्रहरीको अनुपस्थितिमा समाजमा आपराधिक गतिविधिहरु वढ्न सक्ने एवं उच्छृङ्गल समुहको सक्रियता बढ्न जाने भएकोले आत्मसुरक्षाको निम्ति नागरिक सुरक्षा दस्ता गठन गरी आ-आफ्नो टोल एवं टोलवासीको शान्ति सुरक्षा र अमनचयनको लागि क्रियाशिल हुन, थप सुरक्षा नावश्यक परेमा नेपाली सेनाको हटलाईन नं. ०१-५९७९००० वा टोखा नगर प्रहरी बलको फोन नं. ९८४०००२०२९ मा सम्पर्क गर्नुहुन एवं नेपाली सेनाबाट जारी निषेधाज्ञा, कर्फ्यू र निर्देशनको पालना गर्नु/गराउनु हुन अनुरोध गर्दछु । भत्किएका संरचनाहरुको सरसफाई गर्दै जनजीवनलाई सामान्य तर्फ लैजान एवं आवश्यक परेका बखत मुलुकको पुनर्निर्माणको लागि योगदान गर्न म सम्पूर्ण नगरबासीलाई आह्वान गर्दछु। साथै, नगरपालिका तथा अन्तर्गतका कार्यालयहरुबाट अवरुद्ध सेवा चाँडै सुचारु हुने व्यहोरा जानकारी गराइन्छ ।

    धन्यवाद !

    टाेखा नगर प्रमुख

    प्रकाश अधिकारी

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै