• TOKHA LIVE

      TOKHA LIVE

    • २४ चैत्र २०८०, शनिबार १८:२४

    टोखामा पाँहाचर्‍हे’ (पुटुछि मला जात्रा ) मनाइँदै

    काठमाडौँ, २४ चैत : ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा (पुटुछि मला जात्रा )पाँहाचर्हे’ जात्रा मनाइने भएको छ । नेवार समुदायको बाहुल्यता रहेको टोखामा यही चैत २५ देखि २७ गतेसम्म ‘पाँहाचर्हे’ जात्रा मनाउन लागिएको हो ।नेवार समुदायले प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमा देवी (संकटा) र लुकुमहा द्यः (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चःर्हे मनाइने गरिन्छ । यस दिनलाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ । पाहाँ अर्थात पाहुना र चःर्हे अर्थात पर्व, बिहे गरी पठाइसकेका छोरीचेलीलाई घर ब्यवहारले नभ्याइ रहने हुँदा वर्षको एक दिन भए पनि अनिवार्य रुपमा यस पर्वको उपलक्ष्यमा निम्तो गरेर भोज खुवाउने परम्परा छ । नेवार समुदायको स्थान परिवेश हेरी आ-आफ्नै मौलिक परम्परा अनुसार पाहाँ चःर्हे मनाइने गरिन्छ ।

     

    पाहाँ चःर्हेलाई टोखाको पुरानो विस्काः जात्रा पनि भन्ने गरिन्छ । यो दिन सखारै थनेलाछिमा विशेष जात्रा हुन्छ । आमा संकटालाई छोरा विनायकले ढोग्ने यस जात्रालाई रथ जुधाउने जात्रा पनि भनिन्छ । उक्त जात्राका अवसरमा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो मसिनो खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । चैत २५ गते पिचास चर्तुदशीका दिन बिहान ६ः३० बजे लिङ्ग (यँसि) उठाउने र साँझ ६ः३० बजे सपन विनायक र सङ्कटा अजिमाका दुई रथलाई गाउँ परिक्रमा गराइन्छ । उक्त परिक्रममाका क्रममा जहाँ जहाँ महादेव लुकेर बसेको छन् त्यहाँ पु¥याइ दर्शन गराएर फर्काउने चलन रहेको टोखाका मूल नाइके हेमराज श्रेष्ठले बताउनुभयो । यो जात्रा पहिले पहिले विहान सबेरै शुरू गरी यति चॉडै सम्पन्न हुन्थ्यो कि यो जात्राको नाम नै “ पटुछि मला जात्रा “ अर्थात् दौराको तुनै बाँध्न नभ्याइने जात्रा रहेको स्थानीय बुढापाका अहिले पनि स्मरण गर्छन ।

    चैत २६ गते अर्थात् घोडेजात्राका दिन साँझ ६ः३० बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याई छ कुमार र चार कुमारीलाई मरजा (भात) खुवाइन्छ । सपनविनायकमा भने दुई कुमारलाई मरजा खुवाउने प्रचलन रहेको छ । सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ । सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन रहेको छ । चैत २७ अर्थात् जात्राको अन्तिम दिन बिहान ६ः३० बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँच वटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो)मा लगेर सपनविनायकले सङ्कटालाई तीन पटक ढोगाउने चलन रहेको छ । त्यसपछि सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीन पटक परिक्रमा गरी जात्रा समापन गरिन्छ ।प्रकृति र संस्कृतिसँगको यो मेल साँच्चै नै तिलस्मी छ । यसै समयमा बोटविरुवाहरुमा पालुवा चढ्ने, चराचुरुङ्गीको मधुर आवाज सुनिने, विभिन्न स्थानमा ढुंगा रसाई मुल फुट्ने, ढकमक्क फुलिरहेका बहुरंगी फुलहरुको सुवासले मन्त्रमुग्ध बनाउदै मानिसहरुको मनोभावनामा समेत उद्धेलित बनाउने गर्दछ यो बसन्त ऋतुको आगमन । बसन्त ऋतुको आवागमनसँगै ऐतिहासिक तथा सास्कृतिक महत्व बोकेको पाहा चरे जात्राको सम्पन्न हुनुले नयाँ वर्ष संगै शुरू हुने बिस्का: जात्रा को अनुभूतिका साथै जनमनमा नयाँ फरक जोश ल्याउँदछ ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै