काठमाडौँ, २६ भदौ /
हालैको ‘जेनजी’ आन्दोलनका क्रममा कारागार तोडफोड र आगजनीपछि भागेका कैदीबन्दी र थुनुवालाई प्रहरी प्रधान कार्यालयले कारागारमा फर्किन अनुरोध गरेको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय भुक्तान गरिरहेका कैदीबन्दीले तुरुन्त कारागारमा सम्पर्क गर्नुपर्ने र थुनुवाले सम्बन्धित प्रहरी इकाइमा आउनुपर्ने बताउनुभएको छ।
भदौ २३ गते भएको आन्दोलनपश्चात् देशभरका विभिन्न प्रहरी कार्यालय र कारागार तोडफोड हुँदा १४ हजारभन्दा बढी कैदीबन्दी र थुनुवा फरार भएका थिए। तीमध्ये केही सयजना मात्रै फर्किएका छन् भने केही पक्राउ परेका छन्।
प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, “फरार भएका सबै अभियुक्त र कैदीबन्दी तुरुन्त नजिकको प्रहरी वा सुरक्षा निकायसँग सम्पर्कमा आउनुहोस्।”
यो घटनाले सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। यति ठूलो सङ्ख्यामा कैदीबन्दी फरार हुनु केवल प्रहरी र कारागार प्रणालीका लागि मात्र होइन, सर्वसाधारण जनताको सुरक्षाका लागि पनि चिन्ताजनक विषय बनेको छ।

