• TOKHA LIVE

    • २६ भाद्र २०८२, बिहीबार १२:४४

    त्रिभुवन विमानस्थलमा उडान फेरि नियमित

    काठमाडौँ, २६ भदौः केही दिन अवरुद्ध भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान अब फेरि नियमित भएको छ। बुधबार साँझदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान सामान्य रूपमा सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ।

    महाप्रबन्धक हंशराज पाण्डेले यात्रु आवागमन सहज बनाउन सुरक्षासँग समन्वय गरिएको बताए। उनका अनुसार अहिले उडान तालिका अनुसारै विमान उडान भइरहेका छन् तर थप उडान थप्ने अवस्था भने छैन।

    निषेधाज्ञा जारी रहेको उपत्यकामा यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा विमानस्थल आउजाउ गर्न दिइएको छ। नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकलाई सटल बसमार्फत गन्तव्य पुर्‍याउने व्यवस्था गरेको छ भने वायुसेवा कम्पनीहरूले पनि यात्रुलाई सहज बनाउन आ–आफ्ना उपायहरू अपनाइरहेका छन्।

    ‘जेनजी आन्दोलन’का कारण भदौ २४ गतेदेखि विमानस्थल बन्द गरिएको थियो। तर सुरक्षा समितिको निर्णयपछि बुधबार दिउँसो ३ः३० बजेदेखि फेरि सञ्चालन सुरु भएको हो।

    हाल विमानस्थल भएर दैनिक तीन सयभन्दा बढी उडान भइरहेका छन्। आन्तरिकतर्फ २१ वायुसेवा कम्पनी (१२ हेलिकप्टर कम्पनीसहित) र अन्तरराष्ट्रिय तर्फ ३० भन्दा बढी एयरलाइन्सले उडान भर्ने गरेका छन्। बिहान ६ बजेदेखि राति १ बजेसम्म खुला रहने विमानस्थलले यात्रुहरुलाई आधिकारिक टिकट र परिचयपत्र साथमा लिएर मात्र आउन अनुरोध गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै