• TOKHA LIVE

    • २४ भाद्र २०८२, मंगलवार १३:४०

    स्वास्थ्य मन्त्रीको राजीनामा : “लोकतन्त्रका लागि नैतिक कारणले पद छाडेँ”- प्रदीप पौडेल  

    नविना श्रेष्ठ

    काठमाडौँ, २४ भदौ
    स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन्। भाद्र २३ गते देशभर भएका ‘जेन जी’ प्रदर्शनमा प्रहरी कारबाहीका कारण निर्दोष युवाहरूको रगत बगेको घटनापछि उनले पदमा रहिरहन आत्माले अनुमति नदिएको बताएका छन्।

    “अहिंसा लोकतन्त्रको प्राण हो। आफ्नै निहत्था छोरा–छोरीको रगत बगिरहेको दृश्य देख्दा पदमा बसिरहन सकिनँ,” मन्त्रीले आफ्नो राजीनामा वक्तव्यमा लेखेका छन्।

    उनले आन्दोलनकारी युवाहरूको आवाजलाई विद्रोह नभई सुधारको अपेक्षा भएको भन्दै, “यो पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक खबरदारी हो। उनीहरूले भविष्य मागेका हुन्, भिडन्त होइन,” भनेका छन्।

    राजीनामा वक्तव्यमा उनले नेपाली कांग्रेस, निर्वाचन क्षेत्र काठमाडौँ–५ का जनतासहित मन्त्रालयमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति आभार व्यक्त गरेका छन्। साथै लोकतन्त्रमा असहमतिलाई संवादमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

    मन्त्रीले घाइतेहरूको उपचार सुनिश्चित गर्ने प्रयास गर्नुपर्ने तर त्यही राज्य संयन्त्रको भाग भएर बसिरहन नसक्ने बताउँदै अन्ततः पद छाड्ने निर्णय लिएका हुन्।

    “लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु,” भन्दै उनले आफ्नो राजनीतिक जीवनमा लोकतन्त्र र जनताको आवाजलाई नै सर्वोच्च मान्ने प्रतिवद्धता दोहोर्‍याएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै