काठमाडौँ, २३ भदौः
‘जेनजी’ पुस्ताको नाममा भइरहेको आन्दोलनले देशभर दुःखद मानवीय क्षति बेहोर्नु परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म १९ जनाले ज्यान गुमाएका छन् भने तीन सय ४७ जना घाइते भएका छन्।
काठमाडौँका विभिन्न अस्पतालहरू घाइतेहरूले भरिएका छन्। सिभिल अस्पतालमा उपचारको क्रममा तीन जनाको ज्यान गएको छ भने सयभन्दा बढीको उपचार भइरहेको छ। वीर अस्पतालमा छ जना उपचाररत छन्। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत रहँदा आठ जनाको मृत्यु भएको छ।
बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको छ, जहाँ तीन जनाले जीवन गुमाइसकेका छन्। काठमाडौँ मेडिकल कलेजमा ३७ जना उपचारत छन् र त्यहाँ पनि दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ।
त्रिवि शिक्षण अस्पतालमा १८ जना उपचाररत छन् भने एक जनाको मृत्यु भइसकेको छ। नर्भिक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अन्य अस्पतालहरूमा समेत घाइतेको उपचार भइरहेको छ।
उपत्यकाबाहिर पनि पीडादायी अवस्था देखिएको छ। गण्डकी मेडिकल कलेजमा एक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, विराट मेडिकल कलेजमा चार र दमक अस्पतालमा सात जना उपचाररत छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।
सरकारले घाइतेहरूको उपचारमा आवश्यक सबै सहयोग गर्ने जनाएको छ। तर, एकै दिनमा १९ परिवार शोकमा डुब्नु र सयौँ नागरिक घाइते हुनु देशका लागि गम्भीर पीडाको क्षण बनेको छ।

