नविना श्रेष्ठ
काठमाडौं, भदौ २३
नेपालको स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि थपिएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमार्फत देशभर १५ सयौं मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। यस उपलब्धिलाई विशेष बनाउन राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि तथा स्वास्थ्य मन्त्री प्रदीप पौडेल विशेष अतिथि रहेका थिए। कार्यक्रममा गोपालमान श्रेष्ठले सभाध्यक्षता गरेका थिए।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका नायकहरू – चिकित्सक, नर्स, स्वयंसेवक र अङ्गदातालाई सम्मान गरिएको थियो। यस अवसरमा राष्ट्रपति पौडेलले “एक हजार पाँच सय जीवनलाई नयाँ सुरुवात दिने यो कार्य सम्पूर्ण नेपालीका लागि गर्वको विषय हो” भन्दै प्रत्यारोपण सफल बनाउन खटिएका सबैलाई धन्यवाद व्यक्त गरे।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अङ्ग प्रत्यारोपणबारे अझ जनचेतना आवश्यक रहेको उल्लेख गर्दै भने, “मानिसहरूको शरीरबाट छ प्रकारका अङ्ग प्रत्यारोपण गर्न सकिन्छ, तर अझै धेरैले यो विषय नबुझ्दा समस्या हुन्छ। जनशक्ति, पूर्वाधार र उपकरण थप आवश्यक छन्।” उनले आगामी दिनमा सातै प्रदेशका अस्पतालमा प्रत्यारोपण सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी मन्त्री पौडेलले अङ्ग प्रत्यारोपण गर्ने व्यक्तिहरूलाई सरकारले ७५ हजारदेखि २ लाख रुपैयाँसम्म सहयोग गर्ने व्यवस्था गरिएको जानकारी दिए।
यस बीच, प्रत्यारोपण केन्द्रका वरिष्ठ चिकित्सक डा. पुकार श्रेष्ठ, कल्पना श्रेष्ठलगायतलाई समेत कार्यक्रममा विशेष धन्यवाद दिइएको थियो।
नेपालमा मृगौला प्रत्यारोपण सेवा सुरु भएदेखि अहिलेसम्म हजारौं बिरामीले नयाँ जीवन पाएका छन्। यो उपलब्धि केवल स्वास्थ्य प्रविधिको मात्र नभई मानवता र सहयोगको भावनाले सम्भव भएको सबै वक्ताहरूको साझा धारणा थियो।


