• TOKHA LIVE

    • २१ भाद्र २०८२, शनिबार १८:४१

    टोखाका पुराना कलाकार आशाकाजी डंगोलले गरे चतुर्मास दाफा भजनको सफु पुनर्लेखन

     

    काठमाडौँ, भदौ १९/ टोखाका पुराना कलाकार आशाकाजी डंगोलले नेवा समुदायमा विशेष महत्व राख्ने चतुर्मास दाफा भजनको सफु (पुस्तक) पुनर्लेखन गरेका छन्।

    विसं २०५० सालदेखि कला र संस्कृतिमा निरन्तर सक्रिय डंगोल टोखामा केवल चित्रकलाका कारण मात्र नभई, सुन्दर देवनागरी अक्षर लेखाइका लागि पनि चिनिन्छन्। उहाँले यसअघि बिस्का नख:मा प्रयोग हुने देव–देविकाका पछाडिका चित्रपट, वस्त्र गाछी र थाङ्का बनाएर प्रशंसा कमाइसकेका छन्।

    डंगोलले पछिल्लो समय टोखाको ऐतिहासिक खलपुचस्थित श्री इन्द्रायणी दापा खल, श्री सपनतीर्थ दापा खल र जोर भिमसेन दापा खलका भजन सफुहरूलाई पुनर्लेखन गरेका छन्।

    उहाँले भन्नुभयो, “पुराना पुस्ताले मसीमा काठको चुच्चो चोपेर लेखेका अक्षर घामपानीले धमिलो भएर हराउँदै गएका छन्। पुर्खाको नासो युवापुस्ताले सजिलै पढ्न नसक्ने भएपछि मैले ती अक्षरलाई नयाँ पुस्तामाझ जीवित राख्न पुनर्लेखन गरेको हुँ।”

    यसै गरि चतुर्मास दाफा भजनको सफु (पुस्तक)को ऐतिहासिक टाेखामा अध्ययन गर्न आइपुगेका टाेखा नगरपालिका वडा ९ निवासी वरिष्ठ पत्रकार रत्नअनामणी श्रेष्ठले चतुर्मास दाफा भजनको सफु २०१४ सालको सफु अध्ययन पछि यसको इतिहास  तीन सय वर्ष पुरानो भएको उहाँले बताउनुभयो। उहाँको तर्क यो थियो कि तीन सय वर्ष अघिका अक्षर एउटा एउटा नजोडिएको हुन्थ्यो भने २०१४ सालमा लेखेको धनमान बाजेको लिपिमा अक्षर एउटा एउटा थियो भने उहाँले पछि अक्षरहरु जाेडेर लेख्नुभयो उहाँ दोस्रो हो भने हाल आएर टाेखाका आशाकाजी डंगोल तेस्रो पुस्ताका हुन् भनेर उहाँले ठाेकुवा गर्नुभयो ।

    अर्का काठमाडौं महानगरपालिका निवासी वरिष्ठ पत्रकार कुमार रन्जितले टाेखाको चतुर्मास दाफा भजनको सफु संगै लेखेका अंकित चित्रहरु अध्ययनपछि त्यतीबेलामा पनि कलाकार भएको अनुमान गर्नुभयो।

    टाेखाका कलाकार आशाकाजी डंगोलको यो पहलले हराउँदै गएको संस्कृतिलाई जगेर्ना गर्ने मात्र नभई, भोलिका पुस्ताले पनि आफ्नो परम्परा सजिलै चिन्न र गीतभजनको स्वरमा जोडिन सक्ने अवसर पाउने अपेक्षा गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै