काठमाडौँ, १९ भदौः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्म क्रमशः बन्द गर्ने भएको छ।
मन्त्रालयमा आज बसेको मन्त्रीस्तरीय बैठकले सुप्रीम कोर्टको आदेश र मन्त्रिपरिषद्को भदौ ९ गतेको निर्णय कार्यान्वयन गर्न यस्तो कदम चालिएको बताएको छ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पटक–पटक सूचनामार्फत जानकारी दिँदा पनि सम्बन्धित कम्पनीहरूले सरकारसँग सम्पर्क नगरेपछि यस्तो बाध्यात्मक निर्णय लिनु परेको हो। उहाँले भन्नुभयो,
“यो स्थायी बन्द होइन। सूचीकृत भइसकेका वा प्रक्रियामा रहेका प्लेटफर्मलाई बन्द गरिएको छैन। सम्बन्धित कम्पनीहरूले सम्पर्कमा आएपछि सेवा पुनः सुचारु हुन्छ।”
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा छन्।
मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालमा करिब २५ वटा जति सामाजिक सञ्जाल सक्रिय रूपमा प्रयोगमा छन्। तर, कुन–कुन बन्द हुने भन्ने स्पष्ट संख्या अझै तोकिएको छैन।

