काठमाडौँ, भदौ १७ /
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्षयरोगको छिटो निदान र उपचारमार्फत हजारौँ नागरिकको जीवन बचाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन सञ्चालनमा आएसँगै सोमबारदेखि त्यहाँ क्षयरोग उपचार सेवा औपचारिक रूपमा सुरु भएको हो। मन्त्रालयले करिब ५० लाख रुपैयाँ खर्च गरेर खरिद गरेको मोलिक्युलर टेस्ट मेसिन हस्तान्तरण गर्दै मन्त्री पौडेलले सेवाको उद्घाटन गरेका थिए।
यसअघि अस्पतालमा क्षयरोग परीक्षण सुविधा नहुँदा बिरामीहरूलाई अन्यत्र जानुपर्ने बाध्यता थियो। नयाँ मेसिन सञ्चालनमा आएपछि अब दुई घण्टामै परीक्षणको नतिजा उपलब्ध हुने भएको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार, यस प्रविधिले सशस्त्र प्रहरीका कर्मचारी, उनका परिवार मात्र होइन, सर्वसाधारण नागरिकलाई समेत छिटो, भरपर्दो र सुरक्षित परीक्षण सुविधा उपलब्ध गराउनेछ।
नेपाल सरकारले क्षयरोगमुक्त नेपाल अभियानलाई सफल बनाउन देशभरका अस्पताल र स्वास्थ्य संस्थामा यस्ता प्रविधियुक्त सेवाहरू विस्तार गर्दै आएको छ। हालसम्म १२८ वटा संस्थाबाट सेवा सञ्चालन भइरहेको र सशस्त्र प्रहरी अस्पतालमा थपिएको यो सुविधा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहायक हुने अपेक्षा गरिएको छ।

