टाेखा काठमाडौँ, भदौ १०/
दान गरौँ, पुण्य कमाऔँ” भन्ने नारासहित श्री चण्डेश्वरी मन्दिर निर्माण संरक्षण समिति,चण्डेश्वरी युवा क्लब र मुस्खारेश्वर भजन खल: टाेखाको आयोजनामा टोखा नगरपालिका–२ स्थित चण्डेश्वरी मन्दिर प्राङ्गणमा चण्डेश्वरी मन्दिरको अक्षयकोष स्थापनार्थ आज भदौ १० गतेदेखि १८ गतेसम्म पितृमोक्ष श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुँदैछ। महायज्ञको उद्घाटन नेपालका प्रख्यात युवा वाचक पण्डित श्री रामचन्द्र तिमिल्सिना र पण्डित श्री हरिचन्द्र तिमिल्सिनाको मुखारविन्दबाट हुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ।
यस धार्मिक महोत्सवमा कलशयात्रा, मण्डप पूजन, दैनिक पाठ पारायण, प्रवचन, भजनकीर्तन लगायत विविध धार्मिक गतिविधिहरू आयोजना हुनेछन्। उद्घाटनको दिन आज बिहान ९ बजे कलशयात्राको साथै १० बजे उद्घाटन पूजन तथा पारायण कार्यक्रम हुनेछ। महायज्ञको अन्तिम दिन भदौ १८ गते पुस्तकात्तिल चढाउने कार्यक्रमका साथ सम्पन्न गरिने छ। कार्यक्रममा उपस्थित भई तन, मन, धन र वचनबाट सहयोग पुर्याई पुण्य लाभ लिन सम्पूर्ण भक्तजनलाई आयोजकले हार्दिक अनुरोध गरेको छ।

