काठमाडौँ, भदौ १३ ।
कागेश्वरी मनोहरा नगरपालिकाले भाद्र शुक्ल अष्टमीका दिन मनाइने ‘कागे अष्टमी’ पर्वका अवसरमा भदौ १५ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार, सो दिन नगर क्षेत्रभित्रका सबै कार्यालय, वडा कार्यालय, अस्पताल, स्वास्थ्य संस्था तथा विद्यालयहरू बन्द रहनेछन्।
नगरपालिकाको वडा नम्बर–१ मा अवस्थित कागेश्वरी धाममा प्रत्येक वर्षजस्तै यसपटक पनि भव्य मेला लाग्ने भएको छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यो स्थलमा हजारौँ भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको छ।
मेलामा विविध कार्यक्रम
कागे अष्टमीको मेलामा नेवार र तामाङ समुदायका सांस्कृतिक झाँकी, स्थानीय उत्पादन प्रदर्शनी, धार्मिक अनुष्ठान, पूजा–आराधना, भजन–कीर्तन लगायतका कार्यक्रम आयोजना गरिने जनाइएको छ।
धार्मिक विश्वास
धार्मिक परम्परा अनुसार कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गर्दा कागको स्पर्शबाट मुक्ति पाइने विश्वास छ। ‘स्वस्थानी व्रतकथा’अनुसार, सत्ययुगमा सतीदेवीको अंग पतन भई उत्पन्न भएको शिवलिङ्ग यहाँ रहेको बताइन्छ।
यस दिन मन्दिरमा हरियो मकै चढाएमा कागले बारीमा लगाइएको मकै नखाने विश्वास छ। साथै, गोसाइँकुण्डबाट ल्याइएको पवित्र जल आजकै दिन कागेश्वरीमा चढाउनुपर्ने परम्परा रहेको छ। भक्तजनले गोसाइँकुण्ड यात्रा पूरा गरेपछि कागेश्वरीमा पूजा नगरी धार्मिक यात्रा अधुरो ठान्ने मान्यता छ।
विशेष आकर्षण
मन्दिर परिसरमा अवस्थित २२७ किलो तौलको अष्टधातुबाट निर्मित नेपालकै सबैभन्दा ठूलो कागको मूर्ति मेलाको मुख्य आकर्षणका रूपमा रहेको छ।
पुग्ने बाटो
कागेश्वरी धाम काठमाडौँबाट जोरपाटी–थली–डाँछी–ब्रह्मखेल–गागल हुँदै पुग्न सकिन्छ। त्यस्तै, थली–भद्रवास–आलापोट हुँदै अढुवाटी मार्ग तथा सुन्दरीजल–महाँकाल हुँदै सिंढी बाटो प्रयोग गर्ने विकल्प पनि उपलब्ध छ।
मन्दिर व्यवस्थापन समितिले सबै भक्तजनलाई आफूलाई सहज पर्ने बाटो प्रयोग गरी मेलामा सहभागी हुन आग्रह गरेको छ।

