काठमाडौँ, भदौ ११ /सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) परिणाम सार्वजनिक गरेको छ । यसमा काठमाडौंको टोखा नगरपालिका उत्कृष्ट प्रदर्शन गर्दै ८५.२५ अंकसहित दोस्रो स्थानमा पर्न सफल भएको छ ।
काठमाडौंकै नागार्जुन नगरपालिका ८६.५० अंकसहित पहिलो स्थानमा रहँदा काठमाडौं महानगरपालिकाले ८१.७५ अंक प्राप्त गरेको छ । यसरी राजधानीका नगरपालिकाले राम्रो नतिजा निकाल्दै जिल्लाको प्रतिष्ठा थप उच्च बनाएका छन् ।
नगरपालिका श्रेणीमा खैरहनी (चितवन), तिलोत्तमा (रुपन्देही) र नीलकण्ठ (धादिङ) उत्कृष्ट घोषित भएका छन् भने गाउँपालिका श्रेणीमा अर्जुनचौपारी (स्याङ्जा), बेनीघाट रोराङ (धादिङ) र रुरु क्षेत्र (गुल्मी) उत्कृष्ट ठहरिएका छन्।
मन्त्रालयका अनुसार, लिसा मूल्याङ्कनको उद्देश्य स्थानीय तहको कार्यप्रणाली, उपलब्धि र विकास व्यवस्थापनको स्तरलाई मापन गर्नुका साथै सुधारका अवसर पहिचान गर्ने र स्वस्थ प्रतिस्पर्धा बढाउने हो ।
निकट भविष्यमा मन्त्रालयले उत्कृष्ट ठहरिएका नगर तथा गाउँपालिकालाई विशेष कार्यक्रममार्फत सम्मान गर्ने तयारी गरेको जनाएको छ । टोखा नगरपालिकाको यो उपलब्धि स्थानीय जनप्रतिनिधि, कर्मचारी र नगरवासी सबैको सामूहिक प्रयासको परिणाम मानिएको छ ।

