• TOKHA LIVE

    • ९ भाद्र २०८२, सोमबार २०:५१

    सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : शाक्य

     

    काठमाडौँ, ९ भदौ । प्रथम महिला राधिका शाक्यले मुलुकको प्रगति र उज्ज्वल भविष्यका लागि सबैले आ–आफ्नो क्षेत्रमा रहेर जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभएको छ।

    राष्ट्रिय युवा सङ्घले आज राजधानीमा आयोजना गरेको तीज उत्सवलाई सम्बोधन गर्दै उहाँले प्रत्येक व्यक्तिको आ–आफ्नै भूमिका, रुचि र क्षेत्र हुने भएकाले सबैले राजनीति मात्र गर्नुपर्ने होइन, आफ्नो स्थानबाट योगदान दिनुपर्ने विचार व्यक्त गर्नुभयो।

    “मलाई धेरैजसोले किन राजनीतिमा नआएको भनेर सोध्ने गर्छन्। तर देशमा सबैले राजनीति गरेर मात्र हुँदैन। सफलताको बाटो राजनीति मात्रै होइन, जुन–जुन क्षेत्रमा भए पनि लगनशीलताका साथ काम गरे सफल हुन्छ,” उहाँले भन्नुभयो।

    प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी समेत रहनुभएकी शाक्यले नेपाली समाजमा अरूको प्रगति देख्दा इर्ष्या र डाह गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै यस्तो नकारात्मक संस्कृतिलाई तोड्न युवाहरूले अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

    उहाँले वर्तमान अवस्थामा धैर्यता, अनुशासन र विवेक अत्यन्त आवश्यक रहेको औँल्याउँदै युवाले सकारात्मक सोचसहित अघि बढे मुलुकको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले मुलुकको भविष्य निर्माणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको भन्दै तिनीहरूलाई सही मार्गदर्शन गर्न आवश्यक रहेको बताउनुभयो।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै