नविना श्रेष्ठ
काठमाडौं, भदौ ६ ।
जलवायु परिवर्तनको चुनौतीलाई सामाना गर्दै उत्थानशील विकासतर्फ अघि बढ्ने उद्देश्यले “शहरी पारिस्थितिक प्रणालीमा आधारित अनुकूलन कार्यक्रम” सम्बन्धी तालिम काठमाडौंको पुलचोकस्थित हिमालयन होटलमा सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्ष काठमाडौँ उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल रहनुभयो भने प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा टोखा नगरपालिकाका जनप्रतिनिधि, अन्य नगर प्रमुख–उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि र विज्ञहरूको सहभागिता थियो।

मन्त्री पौडेलले जलवायु परिवर्तनको प्रश्न आजभन्दा ३० वर्षअघि नै गम्भीर रूपमा उठिनुपर्ने विषय भए पनि ढिला भएको महसुस भएको बताए। उहाँले क्याबिनेटमा यसबारे आवाज उठाउने पहिलो व्यक्ति आफू भएको पनि स्मरण गर्नुभयो। विशेष गरी तारकेश्वर, टोखा, बुढानीलकण्ठ नगरपालिका र शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा यसको प्रभावबारे गहिरो छलफल गरिएको उनले जानकारी दिए।

“आगामी पुस्ताले आजका पुस्तालाई गाली गर्न नपरोस् भनेर हामीले अहिले नै ठोस योजना बनाउनुपर्छ,” मन्त्री पौडेलले भने, “डिपीआर तयार गरेर दिगो योजना अघि बढाउन जरुरी छ।”
कार्यक्रममा जलवायु उत्थानशील विकासका लागि के कस्तो योजना बनाउन सकिन्छ, कसरी प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे गहिरो विचार–विमर्श गरिएको थियो। सहभागी जनप्रतिनिधि तथा विज्ञहरूले दिगो विकास र भावी पुस्ताको हितका लागि यसरी गरिने तालिम र छलफलको आवश्यकता निरन्तर रहनेमा जोड दिएका थिए।


