• TOKHA LIVE

    • ५ भाद्र २०८२, बिहीबार २१:०४

    दुप्चेश्वर महादेव मन्दिरमा भेटी आम्दानी डेढ करोड

     

    त्रिशूली (नुवाकोट), भदौ ५
    नुवाकोटको प्रमुख धार्मिक तीर्थस्थल दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको भीड पछिल्ला वर्षहरूमा अभूतपूर्व रूपमा बढिरहेको छ। दर्शनार्थीहरूको आस्था र श्रद्धासँगै मन्दिरमा संकलित भेटी आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ।

    दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र मन्दिरमा करिब एक करोड ४५ लाख रुपैयाँ बराबरको भेटी संकलन भएको छ। यस आम्दानीमध्ये करिब ३२ लाख रुपैयाँ कर्मचारी तलब, आरती, स्वयंसेवक र रासनमा खर्च भएको छ।

    कोषले मन्दिरको आम्दानी–खर्चलाई पारदर्शी बनाउन हरेक दिन संकलित भेटीलाई सिसिटिभी निगरानीमा सार्वजनिक रूपमा गणना गर्ने व्यवस्था मिलाएको छ।

    केवल साउन महिनामा मात्र करिब ५० हजार भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ। यस अवधिमा झण्डै ३२ लाख रुपैयाँको भेटी संकलन भएको थियो।

    दुप्चेश्वर महादेव मन्दिरलाई “भक्तजनले मागेको इच्छा पूरा गर्ने भगवान” को रूपमा पूज्ने गरिन्छ। यहाँ विशेषगरी सन्तान प्राप्तिको मनोकामना सिद्ध हुने विश्वास रहिआएको छ। बोली नफुटेका बालबालिकाले यहाँ दर्शन गरेपछि बोल्न थाल्ने, नब्याएका गाईभैंसीलाई थारा चढाएपछि ब्याउने विश्वासका कारण पनि मन्दिरमा श्रद्धालुको ओइरो लाग्ने गरेको छ।

    पुजारी भगवानहरी धितालका अनुसार धेरै भक्तजन आफ्नो मनोकामना पूरा भएपछि पुनः दर्शन गर्न आउने गर्छन्। “धार्मिक, आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको दुप्चेश्वरले नुवाकोटलाई धार्मिक पर्यटनको नयाँ गन्तव्य बनाउँदै लगेको छ,” उहाँले बताउनुभयो।

     

    स्थानीय किम्वदन्तीअनुसार करिब ४०० वर्षअघि एक तामाङको दुहुनो गाई हराएपछि खोज्दा पहरोमा दुध चढाइरहेको देखिएकाले त्यस स्थानलाई ‘दुग्धेश्वर महादेव’ मानिएको हो। साथै, समुन्द्र मन्थनको विष पिएर व्यथित महादेव शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा विश्राम लिएर गोसाईकुण्ड पुगेको जनविश्वास पनि छ। यही कारणले दुप्चेश्वरलाई दोस्रो पशुपतिनाथ का रूपमा पूजिन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै